आज चट्याङ, हावाहुरी र असिनासहितको वर्षाको सम्भावना

२०८२ चैत्र २५ गते, बुधबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा चट्याङ, हावाहुरी, असिना, वर्षा र हिमपातको सम्भावना रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । यो प्रभाव भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सतर्कता अपनाएर काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
यसको प्रभाव पश्चिम नेपालमा बढी रहने र त्यहाँ बिहानैबाट असर देखिने विभागले जनाएको छ । दिउँसो भने काठमाडौँलगायत मध्य क्षेत्रमा पनि यसको असर पुग्ने छ ।
विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रको एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना पनि छ । मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभएको छ । बिहीबार पनि देशभर बदली कायम रहने विभागले पूर्वानुमान गरेको छ ।
मौसम विभागले नागरिकलाई चट्याङ र हावाहुरीबाट जोगिन घरबाहिर ननिस्कने, विद्युत् तथा सञ्चारका उपकरणहरू सुरक्षित राख्न र कृषि तथा पशुधनको समेत विशेष ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]