जुडशीतल पर्व मनाइँदै

२०८३ बैशाख १ गते, मंगलवार


काठमाडौँ । नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदैछ। नयाँ वर्ष २०८३ को प्रारम्भ भएसंगैै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइने भएको हो। वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ।
वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ। विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको छ।
पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ। पर्वको दोस्रो दिन भोलि घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशिर्वाद दिने गर्दछन्।

प्रतिक्रियाहरु

[anycomment]