भाडामा बस्नेसँग पुलिस क्लियरेन्स रिपोर्ट माग्न आग्रह
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले घरमा कोठा भाडा लगाउँदा अनिवार्यरुपमा पुलिस क्लियरेन्स रिपोर्ट माग्न आग्रह गरेको छ।परिसरले शुक्रबार गरेको पत्रकार भेटघाटमा एसपी पवन भट्टराईले कुनै घटना भएपछि अनुसन्धान गर्दा डेरा बस्नेको कुनै पनि जानकारी नहुँदा समस्या परेकाले अनिवार्य रुपमा रिपोर्ट माग्न अनुरोध गरिएको बताए।
‘१० वर्षसम्म घरमा भाडा बसेको हुन्छन्। तर, घरबेटीसँग उनीहरूको मोबाइल नम्बर, ठेगाना र फोटो समेत हुँदैन। त्यसैले हामी घरबेटीलाई भन्छौँ – भाडा बस्नेसँग पुलिस रिपोर्ट माग्नुस्,’ एसपी भट्टराईले भने।
पछिल्लो समय काठमाडौं भएकाले घटनामा प्रहरीले अनुसन्धानको क्रममा कुन व्यक्तिको जानकारी समेत पाउन समस्या परेको छ। घरभित्र घटना भएको केही महिनासँग कसैले अत्तोपत्तो समेत नपाउने गरेका थुप्रै घटनाहरू रहेका छन्।
‘यसले अपराध रोकिँदैन। तर अपराध भएपछि रेस्पोन्स गर्न सहयोग पुग्छ,’ एसपी भट्टराईले भने। घरमा कोठा भाडा दिँदा बस्नेको नागरिकताको प्रतिलिपी, फोटो, सम्पर्क नम्बरको जानकारी घरबेटीले प्रष्टसँग राख्नैपर्ने उनले बताए।
