विनाशकारी भूकम्प गएको १० वर्ष पूरा
काठमाडौँ । नेपालमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। १२ वैशाख २०७२ का दिन गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। बिहान ११ बजेर ५६ मिनेटमा बिनासकारी भूकम्प गएपछि त्यसको भोलिपल्ट वैशाख १३ गते र वैशाख २९ गते पनि शक्तिशाली परकम्पहरु गएका थिए। यो भूकम्पको कारण काठमाडौँ उपत्यकासहित देशका १४ जिल्ला अति प्रभावित बनेका थिए।
यो भूकम्पको कारण भत्किएका भौतिक संरचनामा परेर करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए। भूकम्पकाकारण लाखौँ मानिस घरबारविहीन भई विस्थापित हुन पुगेका थिए।
भूकम्पले काठमाडौँका धरहरा, दरबार स्क्वायरलगायतका सयौँ ऐतिहासिक धरोहर र लाखौँ घरहरू ध्वस्त भएका थिए। भूकम्पको कारण ६ लाख भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका थिए। नेपालको इतिहासमा वि.सं. १९९० सालपछि यो नै सबैभन्दा ठुलो भूकम्प थियो, जसले काठमाडौँ उपत्यकाका धेरै विश्व सम्पदा पनि क्षेत्रमा क्षति पु¥याएको थियो। यो भूकम्पबाट सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, सोलुखुम्बूलागयतका जिल्लामा बढी क्षति गरेको थियो।
