यो साताभर वर्षाको सम्भावना

२०८३ बैशाख २० गते, आईतवार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यो साताभर देशभर नै वर्षाको सम्भावना रहेको बताएको छ। विभागका अनुसार गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ । ला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।
मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।
मौसमविद ढकालका अनुसार यो हप्ताभर हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना छ । आइतबार, सोमबार र मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने हिमाली भेगमा केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।
हाल मधेश र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षा भइरहेको छ । अहिले पनि लुम्बिनी र गण्डकीमा मध्यम खालको वर्षा भइरहेको छ ।लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
त्यसैले मौसमको अध्यावधिक जानकारी लिएर मात्रै कामको योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व हाँसो दिवस मनाइँदै

२०८३ बैशाख २० गते, आईतवार

आजपनि हावाहुरी र वर्षाको सम्भावना

२०८३ बैशाख १९ गते, शनिबार