राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
काठमाडौँ । आज वैशाख २४ गते अर्थात् राष्ट्रिय पत्रकारिता दिवस । १९५८ साल वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो । पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेर राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
पत्रकारिता दिवस तथा १२६औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन’ को आदर्श वाक्यका साथ गोरखापत्र दैनिक निरन्तर प्रकाशन हुँदै आएको छ ।
