काठमाडौंमा बर्ड फ्लु देखियो

२०८३ जेष्ठ १२ गते, मंगलवार

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ । नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग देखिएको जनाएको हो । संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गर्ने काम तीव्र रूपमा अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
सूचनाअनुसार संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र त्यस क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको छ । रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
यस्तै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग गरिसकेको अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ । नगरपालिकाले खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न पनि कृषकलाई आग्रह गरेको छ । साथै, फार्म परिसरमा कुकुर, बिरालो र मुसाजस्ता जनावरको प्रवेश रोक्न र मरेका पन्छीलाई सुरक्षित रूपमा तुरुन्त गाड्न भनिएको छ ।
पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ । यदि कुनै क्षेत्रमा ठूलो संख्यामा पन्छी बिरामी पर्ने वा मर्ने घटना देखिए तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]