फ्रान्सद्वारा विश्वकप खेलाडीको सूची सार्वजनिक
काठमाडौँ । फ्रान्सले फिफा विश्वकप खेलाडीको सूची सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली घोषणा गरेका हुन्। आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्।
फ्रान्सेली टोलीबाट मिडफिल्डर एडुआर्डो कामाभिङ्गा बाहिरिएका छन्। प्रशिक्षक डेसचाम्पले कामाभिङ्गाले कठिन सिजन बिताएको र चोटका कारण कम खेल खेलेको बताएका छन्। उनले कामाभिङ्गा अझै युवा रहेको भन्दै भविष्यमा अवसर रहने संकेत पनि गरे।
फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन्। टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन्।
फ्रान्सको विश्वकप टोलीमा गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन्। रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज समावेश छन्। मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन्। आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन्।
फ्रान्स विश्वकपमा समूह आइमा रहेको छ। फ्रान्सले समूह चरणमा जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्ने छ। त्यस्तै जुन २२ मा इराकसँग जुन २६ मा नर्वेसँग खेल्ने तालिका रहेको छ।
