रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी भएका छन्। उनले फोर्ब्सको विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको वार्षिक सूचीमा पुनः शीर्ष स्थान कब्जा गरेका छन्। रोनाल्डोले लगातार चौथो वर्ष र समग्रमा छैटौँ पटक यो सूचीको पहिलो स्थान हासिल गरेका हुन्। फोर्ब्सका अनुसार रोनाल्डोले गत वर्ष कर र एजेन्ट कमिसन अघि करिब ३० करोड अमेरिकी डलर कमाएका छन्। यस कमाइमा अल-नासरसँगको सम्झौताबाट प्राप्त भएको २३ करोड ५० लाख डलरको ठुलो हिस्सा सामेल छ भने बाँकी ६ करोड ५० लाख डलर विज्ञापन, प्रायोजन, लाइसेन्स सम्झौता र व्यावसायिक व्यवसायहरूबाट आर्जन भएको हो। यो कुल कमाइले यसअघि सन् २०१५ मा फ्लोयड मेवेदर जुनियरले कायम गरेको सर्वकालीन कीर्तिमानसँग बराबरी गरेको छ। यसका साथै रोनाल्डोले फोर्ब्सको धनी खेलाडीहरूको सूचीमा छैटौँ पटक शीर्ष स्थानमा रहँदै माइकल जोर्डनको कीर्तिमानसँग पनि बराबरी गरेका छन्। अब उनीभन्दा अगाडि ११ पटक शीर्ष स्थानमा रहेका टाइगर वुड्स मात्र छन्।
रिङभित्र यो वर्ष उतारचढावपूर्ण नतिजा व्यहोरे पनि मेक्सिकन बक्सर कानेलो अल्भारेज सूचीको दोस्रो स्थानमा पर्न सफल भएका छन्। अनडिस्प्युटेड सुपर मिडलवेट उपाधि भिडन्तमा टेरेन्स क्रोफोर्डसँग ठुलो हार बेहोरे पनि अल्भारेजले १७ करोड डलर कमाएको रिपोर्टमा उल्लेख छ। यसैगरी लियोनेल मेस्सी इन्टर मियामी सीएफसँगको व्यावसायिक रूपमा सफल सिजनपछि १४ करोड डलर कमाउँदै तेस्रो स्थानमा रहेका छन्। यो सूचीमा लस एन्जलसका खेल आइकनहरूको पनि वर्चस्व देखिएको छ। लस एन्जलस लेकर्सका लेब्रोन जेम्स एनबीए पारिश्रमिक, विज्ञापन र विभिन्न व्यवसायिक साझेदारीको मद्दतले १३ करोड ७८ लाख डलर कमाउँदै चौथो स्थानमा अटाएका छन्। उनको ठीक पछि लस एन्जलस डजर्सका शोहे ओतानी १२ करोड ७६ लाख डलर कमाइका साथ पाँचौँ स्थानमा छन्।
फोर्ब्सका अनुसार विश्वका शीर्ष ५० सबैभन्दा बढी कमाउने खेलाडीहरूको संयुक्त कमाइमा ठुलो वृद्धि भएको छ। सन् २०१८ मा २ अर्ब ६० करोड डलर रहेको उनीहरूको कुल कमाइ बढेर अहिले ४ अर्ब २० करोड डलर पुगेको छ। – एजेन्सी
