कैलाश मानसरोवर यात्रा प्रभावित

२०८३ आश्विन १६ गते, शुक्रबार


काठमाडौँ । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगै परेको भारी हिमपातका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ ।
मानसरोवर दर्शनको मुख्य सिजन सकिनै लाग्दा भएको भारी हिमपातका कारण हिल्सा नाकाको आवतजावतका साथै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको हो ।
यस वर्ष हालसम्म हिल्सानाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। अध्यागमन कार्यालयका अनुसार मानसरोवर जाने पर्यटकमा सबैभन्दा बढी भारतीय नागरिक छन् भने त्यसपछि बेलायत, अमेरिका र नेपालका तीर्थयात्री रहेका छन्।
हिल्सामा अविरल वर्षासँगै परेको भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन्। हिल्सा-ताक्लाकोट आवतजावत ठप्प भएपछि उनीहरू सीमा क्षेत्रमै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए।
अलपत्र पर्नेहरूमा नाम्खा गाउँपालिका-१, २ र ३ का बासिन्दा रहेका छन्, जसमध्ये अधिकांश ताक्लाकोटमा व्यापार–व्यवसाय गर्दै आएका छन्। गत शुक्रबार हिल्सा पुगेका उनीहरू एक्कासि हिमपात सुरु भएपछि नाकामै रोकिएका हुन्।
हिमपातका कारण चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शनका लागि हुने आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ (अर्थात् असोज १८ गते) देखि मात्र नाका पुनः सञ्चालनमा आउने जानकारी दिइएको छ।
चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फको बाटो सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म हुम्लाका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब साढे दुई फिटसम्म हिउँ जमेको छ।
हिल्सा पुग्न कठिन मानिने नारा लेक पार गर्नुपर्ने र त्यहाँ जमेको बाक्लो हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए। हिल्सा क्षेत्रमा एउटा मात्र स्काभेटर उपलब्ध रहेको र इन्धनको समेत अभाव भएकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। यद्यपि, स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि

२०८३ आश्विन १५ गते, बिहीबार

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

२०८३ आश्विन १४ गते, बुधबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार