शरणार्थीको आवतजावतमा रोक लगाउनु अनुचित: युएनएचसीआर

२०७० श्रावण २४ गते, बिहीबार


साउन २४ – शरण लिन चाहनेलाई सार्वजनिक स्थलबाट टाढै राख्ने स्वीट्जरल्याण्डको योजनाप्रति शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले आपत्ति जनाएको छ ।स्वीटजरल्याण्डका केही नगरहरुले शरणार्थीहरुलाई स्वीमिङ पुल, खेल मैदान, पुस्तकालय जस्ता सार्वजनिक ठाउँबाटै टाढै राख्ने योजना बनाएका छन् ।स्थानीय बासिन्दा र शरणलिन चाहनेहरुका बीचमा तनाव उत्पन्न नहोस् भनेर त्यस्तो योजना बनाएको अधिकारीहरुको दावी छ । युएनएचसीआरले शरण लिन चाहनेले स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउनुपर्ने अन्तर्राष्ट्रिय सिद्धान्त भएको भन्दै वैधानिक रुपमा स्वीटजरल्याण्डमा रहेको र कुनै अपराध नगरेको अवस्थामा आवतजावतमा रोक लगाउनु उचित नहुने बताएको छ ।
विस्थापित भएका र सामान्यतः जोखिममा रहेका व्यक्तिलाई स्वागतयोग्य वातावरण बनाउनका लागि सार्वजनिक सूचनालाई सुदृढ गर्नुपर्ने उच्चायोगका प्रवक्ता ड्यान म्याकनर्टनले बताए ।
युद्ध लगायतका कारणबाट विस्थापित भएकाहरुको सामान्य जिवनमा फर्किने चाहनालाई सबैले सम्मान गर्नुपर्नेमा उहाँको जोड छ । स्वीटजरल्याण्डले भने सरकारले औपचारिक रुपमा प्रतिबन्ध नलगाएको तर स्थानीय निकायले आवश्यकताका आधारमा निर्णय गरेको जनाएको छ । बढ्दो शरणार्थी सख्याका बीच स्वीटजरल्याण्डमा गएको जुनमा शरणार्थी सम्बन्धि नियम कडा बनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]