आईएमएफद्वारा लेनदेनमा उपयोगी हुने प्लाटफर्म निर्माण सुरू !
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले देशहरूबीचको लेनदेनमा उपयोगी हुनेगरी केन्द्रीय बैंक डिजिटल मुद्राहरूका लागि एक प्लाटफर्म निर्माण सुरू गरेको घोषणा गरेको छ । उक्त प्लाटफर्म सञ्चालनमा आएपछि सीबीडीसी भनिने डिजिटल मुद्राहरू परम्परागत मुद्राजस्तै कुनै देशको केन्द्रीय बैंकको नियन्त्रण र नियमनको अधिनमा हुने बताइएको छ । कोषकी कार्यकारी निर्देशक क्रिस्टालिना जर्जिएभाले दिएको जानकारीअनुसार सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को खोज र विकासका लागि सन् २०२३ लाई उल्लेखनीय वर्ष मानिएको छ । साथै, आईएमएफले यस्तो प्लाट निर्माण गरेर अन्तरदेशीय रकम लेनदेनलाई सहजीकरण गर्न खोजेको कार्यकारी निर्देशक क्रिस्टालिनाको दाबी छ ।
आईएमएफको यो घोषणा एटलान्टिक काउन्सिलको एक पछिल्लो प्रतिवेदनको सन्दर्भमा आएको छ । प्रतिवेदनमा अहिले विश्वभर लगभग ११४ केन्द्रीय बैंकहरूले डिजिटल मुद्राको खोज विकास र अनुसन्धानमा काम गरिरहेको उल्लेख छ । नेपालमा पनि राष्ट्र बैंकले सीबीसीडीका विषयमा अध्ययन गरिरहेको छ ।