संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणको सिकार
काठमाडौँ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ। शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ- नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।
हालसम्म यस घटनाको बारे इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।
यसैबीच , इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द भएको बताइएको छ । यसमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका महानिर्देशक टेड्रोस एधेनम गेब्रेससले गाजामा गम्भीर अवस्था सृजना भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । अस्पताल बन्द हुन्दा विरामीका साथै समय अगावै जन्मेका शिशुहरुले मृत्युवरण गर्नुपरिरहेको दुखेसो व्यक्त गर्नुभएको छ ।
गाजाका सबैभन्दा ठूला अस्पतालहरु अल सिफा र अल कुद्स बन्द छन् । अस्पतालक्षेत्र समेत निरन्तर निशानामा पर्दा अस्पतलाभित्रै थुप्रै फसेका पनि बताइएको छ । अल सिफा अस्पतालमा मात्र २३ सय बढी विरामी फसेका हमास सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ ।
रेडक्रसले गाजा क्षेत्रबाट विस्थापन पनि अत्यन्तै असुरक्षित रुपमा भइरहेको जनाएको छ । अस्पतालमा फसेका थप उपचार आवश्यक भएका विरामीको उद्धारका लागि पनि युद्धविराम आवश्यक भएकोमा जोड दिइएको छ ।
अक्टोबर ७ यता गाजा इजरायल युद्ध छेडिएसंगै प्यालेन्स्टायनतर्फ ज्यान गुमाउनको संख्या कम्तिमा ११ हजार १ सय नाघिसकेको अलजजिराले जनाएको छ । पछिल्लो संशोधित तथ्यांक अनुसार हमास आक्रमणमा इजरायलतर्फ भने १२ सयको मृत्यु भएको छ ।