ट्रम्पद्वारा ८ युरोपेली राष्ट्रमाथि थप भन्सार शुल्क लगाउने चेतावनी

२०८२ माघ ५ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ८ युरोपेली राष्ट्रहरूमाथि थप भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले ग्रीनल्याण्ड खरिद गर्ने आफ्नो प्रस्तावको विरोध गर्ने ८ युरोपेली राष्ट्रहरूमाथि अर्को महिनादेखि थप भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन्।
ट्रम्पले डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहितका देशबाट आयात हुने सामानमा आगामी फेब्रुअरी १ देखि १० प्रतिशत र जुन महिनादेखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको हो । ग्रीनल्याण्ड खरिदको सम्झौता नभएसम्म यो शुल्क कायम रहने ट्रम्पको अडान छ ।
ट्रम्पको यो कदमलाई बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पूर्णतया गलत भन्नुभएको छ भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अस्वीकार्य भन्दै यस्तो धम्कीले आफूहरू नडराउने स्पष्ट पार्नुभएको छ । यसैबीच, अमेरिकी प्रस्तावको विरोधमा ग्रीनल्याण्ड र डेनमार्कमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ग्रीनल्याण्ड बिक्रीमा छैन भन्ने नारा लगाएका छन् ।
सामरिक रूपमा महत्वपूर्ण र प्राकृतिक स्रोतले भरिपूर्ण ग्रीनल्याण्डलाई ट्रम्पले अमेरिकी सुरक्षाका लागि अपरिहार्य रहेको दाबी गर्दै आउनुभएको छ । तर, हालै गरिएको एक सर्वेक्षण अनुसार ८५ प्रतिशत ग्रीनल्याण्डवासी अमेरिकामा गाभिने पक्षमा छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]