इरानको सैन्य आक्रमणवाट १२ जना अमेरिकी सैनिक घाइते

२०८२ चैत्र १४ गते, शनिबार


काठमाडौँ । साउदी अरबस्थित प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको सैन्य आक्रमणमा परी १२ जना अमेरिकी सैनिक घाइते भएका छन्।
फेब्रुअरी २८ देखि इरानविरुद्ध सुरु भएको युद्धमा अमेरिकी सेनामाथि भएको यो पछिल्लो ठूलो प्रहार हो। यससँगै युद्ध सुरु भएदेखि अहिलेसम्म घाइते हुने अमेरिकी सैन्य सेवाका सदस्यहरूको संख्या ३०० नाघेको छ। अमेरिकी सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार घाइतेमध्ये २७३ जना उपचारपछि निको भएर पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन्। यद्यपि यो द्वन्द्वमा परेर हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्। पछिल्लो समय खाडी क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र प्रहारका घटना तीव्र बनेका छन्। इरानले अमेरिकी र इजरायली सैन्य अड्डालाई निशाना बनाउन थालेपछि क्षेत्रमा तनाव झनै चुलिएको छ।
यसैबीच, अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिना पुग्न लाग्दा वासिङ्टनले इरानको विशाल मिसाइल भण्डारको करिब एक तिहाइ हिस्सा मात्र निश्चित रूपमा नष्ट गर्न सकेको दाबी सार्वजनिक भएको छ। अमेरिकी गुप्तचर निकायका सूचनामा आधारित समाचार संस्था रोयटर्सका अनुसार बाँकी मिसाइलहरूमध्ये केही भूमिगत सुरुङ र बंकरहरूमा पुरिएको वा क्षति पुगेको हुन सक्ने अनुमान गरिए पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
यो तथ्याङ्कले इरानसँग अझै पनि ठूलो मात्रामा युद्ध सामग्री सुरक्षित रहेको र युद्ध रोकिएपछि उसले ती मिसाइलहरू पुनः प्राप्त गर्न सक्ने देखाउँछ। यो प्रतिवेदन राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दिएको सार्वजनिक अभिव्यक्तिभन्दा निकै फरक छ। ट्रम्पले इरानसँग अब निकै थोरै रकेटहरू बाँकी रहेको दाबी गरेका थिए।
यद्यपि, उनले बाँकी रहेका थोरै प्रतिशत मिसाइलहरू पनि अर्बौं डलरका अमेरिकी जहाजहरूका लागि घातक हुन सक्ने स्वीकार गरेका छन्। पेन्टागनका अनुसार युद्ध सुरु भएयता इरानी मिसाइल र ड्रोन आक्रमणमा ९० प्रतिशतले कमी आएको छ र उनीहरूको उत्पादन क्षमतामा ६६ प्रतिशतभन्दा बढी क्षति पुगेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले एपिक फ्युरी नामक यो अपरेसन तालिका अनुसार नै अघि बढिरहेको बताएको छ। बुधबारसम्म इरानका १० हजारभन्दा बढी सैन्य लक्ष्यहरूमा प्रहार गरिएको छ र इरानी नौसेनाका ९२ प्रतिशत ठूला जहाजहरू डुबाइसकिएको दाबी गरिएको छ। तर, इरानले अझै पनि आफ्नो हतियार नसकिएको प्रमाण दिइरहेको छ। बिहीबार मात्रै इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ वटा ब्यालिस्टिक मिसाइल र ११ वटा ड्रोन प्रहार गरेको थियो।
विशेषज्ञहरूका अनुसार इरानले आफ्नो सैन्य क्षमता जोगाउन कतिपय हतियारहरू प्रयोग नगरी लुकाएर राखेको हुन सक्छ। इरानको विशाल भूगोल र हमासले जस्तै बनाएका गहिरा भूमिगत सुरुङहरूका कारण अमेरिकालाई उसको वास्तविक सैन्य क्षमताको यकिन गर्न कठिन भइरहेको छ। इजरायली अधिकारीहरूका अनुसार इरानसँग युद्धअघि २,५०० ब्यालिस्टिक मिसाइल थिए, जसमध्ये ७० प्रतिशत लन्चरहरू मात्र नष्ट भएका छन्। इरानले हालै मात्र हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिकी-बेलायती सैन्य आधार शिविरमा लामो दूरीको मिसाइल प्रहार गरेर आफ्नो नयाँ क्षमता प्रदर्शन गरेको थियो। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]