अमेरिकाका महान्यायाधीवक्ता र सेनाका चिफ अफ स्टाफ जर्ज बर्खास्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताएका छन् र उनको कामको प्रशंसा पनि गरेका छन्।
पाम बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एप्स्टिनसम्बन्धी फाइल सार्वजनिक गर्ने विषयमा विवादित रह्यो। उनले सुरुमा पूर्ण पारदर्शिताको वाचा गरेकी थिइन्, तर पछि अपेक्षाअनुसार सबै जानकारी बाहिर नआएको भन्दै कडा आलोचना भएको थियो।
फाइल सार्वजनिक गर्ने क्रममा पीडितहरूको पहिचान सुरक्षित नगरेको र केही विवरण लुकाइएको आरोपसमेत लागेको थियो। उनको स्थानमा सहायक महान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गर्ने तयारी गरिएको छ। बोन्डीले आफ्नो जिम्मेवारी छिट्टै हस्तान्तरण गर्ने र नयाँ भूमिकाबाट पनि प्रशासनलाई समर्थन गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।
यसैगरी, अमेरिकी सेनाका चिफ अफ स्टाफ, जनरल र्यान्डी जर्ज बर्खास्त भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलमार्फत एक विज्ञप्ति जारी गर्दै सेनाका चिफ अफ स्टाफ, जनरल र्यान्डी जर्जले आफ्नो पदबाट राजीनामा दिने र तुरुन्तै अवकाश लिने जानकारी दिएको छ।
पार्नेलले भने, ‘रक्षा मन्त्रालय जनरल जर्जले हाम्रो राष्ट्रका लागि दशकौँसम्म गर्नुभएको सेवाप्रति कृतज्ञ छ। हामी उहाँको सेवानिवृत्त जीवनको सफलताको कामना गर्दछौँ।’
जर्जले सन् २०२३ मा सिनेटबाट अनुमोदन भएपछि यो जिम्मेवारी सम्हालेका थिए। उनलाई पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले यस पदका लागि मनोनयन गरेका थिए।
सामान्यतया सेनाको चिफ अफ स्टाफको कार्यकाल चार वर्षको हुन्छ, जसअनुसार जर्ज सन् २०२७ सम्म यस पदमा रहनुपर्ने थियो। वेस्ट पोइन्टबाट स्नातक गरेका जर्ज एक करियर इन्फन्ट्री अफिसर थिए। उनले पहिलो खाडी युद्ध तथा इराक र अफगानिस्तानका द्वन्द्वहरूमा सेवा गरेका थिए।
यसअघि उनले २०२१–२०२२ सम्म रक्षा सचिव लोयड अस्टिनका वरिष्ठ सैन्य सहायकको रूपमा पनि काम गरेका थिए पिट हेगसेथले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।
गायक तथा डोनाल्ड ट्रम्पका समर्थक किड रकको घरमाथिबाट हेलिकोप्टर उडाउने पाइलटहरूमाथि सेनाले अनुसन्धान सुरु गरेपछि जर्जलाई हटाइएको उल्लेख गरिएको छ। हेगसेथले उक्त अनुसन्धानको निर्णयलाई उल्टाइदिएका थिए।
