इरानद्वारा मध्यपूर्वभरि अमेरिकी सम्पत्ति ध्वस्त पार्ने चेतावनी
काठमाडौँ । इरानले आफ्नो पूर्वाधारमाथि हमला भए मध्यपूर्वभरि अमेरिकाका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। इरानी सेनाले अमेरिका आफ्नो पूर्वाधारमाथि आक्रमण गर्ने धम्की कार्यान्वयन गरे त्यसको कडा जवाफ दिने बताएको हो।
इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोलफाघारीले चेतावनी दिँदै भने, “यदि हाम्रो पूर्वाधार छोइयो भने क्षेत्रभर रहेका अमेरिकाका सम्पूर्ण सम्पत्ति र पूर्वाधार नष्ट गरिदिनेछौँ।”
उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पुल, विद्युत् केन्द्र, ऊर्जा संरचना र अन्य महत्वपूर्ण पूर्वाधार नष्ट गर्ने धम्की दिँदै आएका छन्।
जोलफाघारीले अमेरिका वा उसका सहयोगीहरूले यस्ता धम्की कार्यान्वयन गरे इरानी सशस्त्र बलले क्षेत्रभर रहेका अमेरिका तथा इजरायलसँग सम्बन्धित इन्धन, ऊर्जा र आर्थिक संरचनाहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।
त्यसैगरी अमेरिकी सेना रहेका सहयोगी देशहरूका सम्पत्तिहरू पनि आक्रमणको दायरामा पर्न सक्ने उनले बताएका छन्। “क्षेत्रका देशहरूले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डाहरू हटाउन अमेरिकालाई दबाब दिनुपर्छ, नत्र उनीहरू पनि जोखिममा पर्न सक्छन्,” जोलफाघारीले भने।
यो चेतावनी अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले इरानको सबैभन्दा ठूलो पुल ध्वस्त पारेको दाबी गरेपछि आएको हो। ट्रम्पले तेहरान र कराजबीच निर्माणाधीन झोलुङ्गे पुल भत्किएको तस्वीर सार्वजनिक गर्दै यस्तो दाबी गरेका थिए।
