इरानद्वारा थप दुई वटा अमेरिकी लडाकू विमान खसालेको दाबी
काठमाडौँ । इरानले थप दुई वटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। उसले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात रहेको भनेर अमेरिकी संसदको आउस आर्म्ड सर्भिसेज् कमिटीलाई सूचना पठाएको एपीले जनाएको छ।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि इरानले पहिलो पटक एफ-१५ लडाकू विमान खसालेको उल्लेख गर्दै समाचार लेखेको छ।
शुक्रबार नै इरानले अर्को लडाकू विमान ए-१० वार्थहग खसालेको दाबी गरेको छ। उक्त लडाकू विमान कुवेतमा खसालेको दाबी गरेको छ। उक्त लडाकू विमानबाट भने पाइलटले प्यारासुटबाट हामफालेर ज्यान जोगाएको दाबी गरिएको छ। एक अमेरिकी अधिकारीले उक्त लडाकू विमान खस्नुमा इरानी हमला कारक हो, होइन भन्ने पुष्टि नभएको भनेर एपीलाई बताएका छन्।
बेपत्ता रहेका एफ-१५ लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो। यद्यपि त्यसमा समेत इरानी हमला भएपछि फर्किएको रोयटर्सले जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले पनि विमान खसेको आसपास खोजी तीव्र पारेको छ। आइआरजिसीले बेपत्ता भएका व्यक्तिलाई फेला पार्ने वा मार्नेलाई पुरस्कार दिने घोषणा गरेको छ। एपीले यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया लिएको छ। यद्यपि उनले यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
रोयटर्सका अनुसार ट्रम्प ह्वाइट हाउसमा बसेर उद्धार अभियानको नियमित अपडेट लिइरहेका छन्। इरानले शुक्रबार मात्रै दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो। इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको थियो। इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ।
