इरानद्वारा अमेरिका र इजरायललाई ठूलो सरप्राइज दिने उद्घोष
काठमाडौँ । इरानका एक सुरक्षा अधिकारीले जारी युद्धमा तेहरान आफ्नै योजनाअनुसार अगाडि बढिरहेको बताउँदै अमेरिका र इजरायलका लागि “ठूलो सरप्राइज” तयारी अवस्थामा रहेको चेतावनी दिएका छन्। फार्स समाचार एजेन्सीले उद्धृत गरेको वक्तव्यमा ती अधिकारीले अमेरिकाले तयार पारेको ‘टार्गेट बैंक’ (आक्रमण लक्ष्यहरूको सूची)सही नभएको दाबी गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुलहरूमा आक्रमण गर्ने दिएको धम्कीलाई “हास्यास्पद” भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार यस्तो धम्की अमेरिकी सैन्य कारबाही असफल भएको, विशेष गरी उसका युद्ध विमान खसालिएको घटनापछि आएको प्रतिक्रिया मात्र हो। “अमेरिका र उक्त शासनका लागि हामीसँग ठूलो सरप्राइज छ। त्यसका लागि धेरै समय लाग्दैन,” उनले चेतावनी दिँदै भने, “दक्षिणी इरानमा उनीहरूको व्यवहारले घटनाक्रमको समय पनि हाम्रो पक्षमा बदलिन सक्छ।”
ती अधिकारीले इरानले असममित युद्धको रणनीतिमा शत्रुलाई कसरी थकित पार्ने भन्ने राम्रोसँग सिकेको दाबी गरे। उनले अमेरिकाको “छिटो, सफा र सजिलो आक्रमण” गर्ने रणनीति असफल भएको टिप्पणी पनि गरे।
यसअघि शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका थिए । त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्पले दिएका छन्।
