इजरायलद्वारा लेबननमा भीषण हमला, २५० जनाको मृत्यु
काठमाडौँ । इजरायलले लेबननको राजधानी बेरूत लगायत विभिन्न क्षेत्रमा गएराति अहिलेसम्मकै भीषण हवाई हमला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा सयौँ मानिसको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणमा २५० जनाभन्दा बढीको मृत्यु भएको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्। गएराति पूर्वचेतावनीबिना गरिएको आक्रमणलाई हिजबुल्लाहले फेब्रुअरीयता सुरु भएको युद्धकै सबैभन्दा घातक दिन भएको बताएको छ।
दक्षिणी लेबनन, राजधानी बेरूत र बेका भ्याली क्षेत्रमा १० मिनेटभित्रै १०० भन्दा बढी स्थानमा हवाई हमला गरिएको बताइएको छ। आक्रमणपछि राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशतर्फ उठिरहेको दृश्य देखिएको थियो भने एम्बुलेन्सहरू घाइतेको उद्धारका लागि दौडिरहेको अवस्था देखिएको एपीले उल्लेख गरेको छ।
प्रत्यक्षदर्शी र पत्रकारहरूले कोर्निच अल माजरा क्षेत्रमा सवारीसाधन र सडकमा जलेका शवहरू देखिएको बताएका छन्। उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजी गरिरहेका छन्। यो हमला अमेरिका र इरानबीच युद्धविराम भएको केही घन्टामै भएको हो। इजरायलले भने हिजबुल्लाहसँगको लडाइँ उक्त युद्धविरामको दायरामा नपर्ने बताउँदै आएको छ। यद्यपि बुधबार बिहान भएको युद्धविराममा लेबननसहित सबै पक्ष समेटिने सम्भावना रहेको भन्दै मध्यस्थता गरिरहेको पाकिस्तानले संकेत गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई समर्थन गरे पनि लेबनन त्यस सम्झौतामा समावेश नभएको बताएका छन्। उनले अमेरिकी कार्यक्रम पीबीएस न्यूज आवरसँगको कुराकानीमा “यो अलग झडप हो” भनेका छन्।
लेबननकी सामाजिक मामिला मन्त्री हनीद सैयदले आक्रमणलाई अत्यन्त खतरनाक भएको बताएकी छन् भने राष्ट्रपति जोसेफ आउनले यसलाई बर्बरतापूर्ण हमला भनेका छन्। स्थानीय बासिन्दाहरूले इजरायलले निशाना बनाएका धेरै स्थानहरू सैन्यस्थल नभई आवासीय क्षेत्र भएको दाबी गरेका छन्।
यसैबीच इजरायली रक्षामन्त्री इसराइल कात्जले आक्रमण हिजबुल्लाहका नेता नाइम कासेमलाई लक्षित गरेर गरिएको बताएका छन्। उनले “अब पालो नाइम कासेमको” भन्दै चेतावनी दिएका छन्। यसअघि इसराइलले सन् २०२४ मा हिजबुल्लाहका नेता हसन नसरल्लाहलाई हवाई हमलाबाट हत्या गरेको थियो। हिजबुल्लाहले भने आफूहरूले युद्धविराम स्वीकार गरिसकेको अवस्थामा इजरायलले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। यसैबीच इजरायलको हमलापछि इरानले फेरि स्ट्रेट अफ हर्मुज क्षेत्रमा जहाजहरूको आवागमन बन्द गर्ने घोषणा गरेको समाचार एपीले जनाएको छ, जसले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ। – एजेन्सी
