अमेरिका र इरानबीच पाकिस्तानमा उच्चस्तरीय वार्ता हुँदै
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा आज उच्चस्तरीय वार्ता हुँदै छ। अमेरिका र इरानबीच युद्धविरामबारे हुन लागेको सो वार्ताका लागि इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानको राजधानी इस्लामावाद पुग्दैछन्।
इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएपनि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी टोली वार्ताका लागि आउन लागेको हो। पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मुकद्दमले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत यसको पुष्टि गरेका छन्। उनले लेखेका छन्, ‘इजरायली सरकारले बारम्बार युद्धविराम तोडेर कूटनीतिक प्रयासमा अवरोध पुर्यायो, जसले इरानी जनतामा शंका उत्पन्न गराएको छ। तर, यसका बाबजुद पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी प्रतिनिधिमण्डल आज इस्लामावाद पुग्नेछ।’
राजदूत मुकद्दमले यो भ्रमण इरानको १० बुँदे प्रस्तावमा आधारित गम्भीर वार्ताका लागि भएको पनि स्पष्ट पारेका छन्। पाकिस्तानमा आज हुने वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गर्नेछन्, जसले यसवार्ताको उच्चस्तरीय महत्वलाई दर्शाउँछ।
इरानले अघि सारेको प्रस्तावमा होर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने मुख्य माग छन्। दुई साताको युद्धविराममा सहमति भएलगत्तै दुवै पक्ष शुक्रबार वार्ताको टेबुलमा बस्न तयार भएका हुन्। जारी विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र पुलमा बमबारी गर्ने आफ्नो धम्की फिर्ता लिँदै दुई साताका लागि आक्रमण स्थगित गर्न सहमति जनाएका छन्। ट्रम्पले विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने ‘होर्मुज’ लाई पूर्ण र सुरक्षित रूपमा खुला गर्ने सर्तमा मात्र यो युद्धविराम लागू हुने स्पष्ट पारेका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणको बदलास्वरूप इरानले उक्त जलमार्गमा आंशिक नाकाबन्दी लगाएको थियो। जसका कारण विश्व बजारमा इन्धनको अभाव हुनुका साथै तेलको मूल्यमा भारी वृद्धि भएको थियो। इरानको उक्त कदमपछि लेबनानको हिजबुल्लाह र येमनको हुथी विद्रोहीसमेत इजरायलविरुद्धको युद्धमा होमिएका थिए, जसले क्षेत्रीय द्वन्द्वलाई थप चर्काएको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानको १० बुँदे प्रस्ताव वार्ताका लागि ‘व्यवहारिक आधार’ भएको उल्लेख गरेका छन्। उनले धेरैजसो विवादास्पद बुँदामा सहमति नजिक पुगिएको र आगामी दुई साताभित्र सम्झौतालाई अन्तिम रूप दिइने विश्वास व्यक्त गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले राष्ट्रिय सुरक्षा परिषद्को तर्फबाट बोल्दै इरान तत्कालका लागि लडाइँ रोक्न र कूटनीतिक संवादमा सहभागी हुन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। – एजेन्सी
