ट्रम्पद्वारा इरानको सर्त अस्वीकार

२०८३ बैशाख १६ गते, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सर्त अस्वीकार गर्दै इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै स्ट्रेट अफ होर्मुज खुलाउन चाहन्छ ।
अहिले इरान आफ्नो नेतृत्व अवस्था सम्हाल्ने प्रयासमा रहेको र हालको अवस्थाबाट बाहिरिन चाहेको ट्रम्पको भनाइ छ ।
यता इरानले भने ट्रम्पको दबाब नस्वीकार्ने स्पष्ट पारेको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अरू देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको बताए । साथै, अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि उनले बताएका छन् ।
अमेरिका, इरान र इजरायलबीच हाल युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि भइरहेको वार्ताले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन । स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट इन्धन ढुवानी अझै पनि सहज हुन सकेको छैन । स्ट्रेट अफ होर्मुज विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । यहाँबाट ठूलो मात्रामा तेल र ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा असर पर्छ ।
इरानले अमेरिकासँग वार्ताका लागि तीन सर्त अघि सार्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकाले गरेको नाकाबन्दी हटाउन आग्रह गरेको छ ।
द न्यूयोर्क टाइम्स का अनुसार तीन इरानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै यो जानकारी दिइएको हो । रिपोर्टअनुसार, इरानले आइतबार अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव दिएको थियो । जसमा अमेरिका–इजरायलसँग चलिरहेको युद्ध अन्त्य होस् र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिइयोस्, त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी हटाओस्, होर्मुज खुलोस् र जहाजहरूको आवागमन पुन: सुरु होस्, अन्त्यमा मात्र परमाणु कार्यक्रम र युरेनियम समृद्धीकरणजस्ता विवादित विषयमा वार्ता भन्ने प्रस्ताव राखिएको छ । तर ट्रम्प यो प्रस्ताव स्वीकार गर्न तयार छैनन् । सीएनएनका अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्ने ट्रम्प प्रशासनको धारणा छ । त्यसैले यी दुवै विषयको समाधान एकैपटक हुनुपर्ने उनीहरूको अडान छ ।

प्रतिक्रियाहरु

[anycomment]