ट्रम्पद्वारा इरानले स्ट्रेट अफ हर्मुजमा रोकेको जहाज निकाल्न सहयोग गर्ने उद्घोष
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा रोकेको जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न सहयोग गर्ने घोषणा गरेका छन्। उनले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुजमा अड्किएका जहाजहरूलाई बाहिर निकाल्न सुरू गरिने घोषणा गरेका हुन्।
सोमबारदेखि नै हर्मुजमा फसेका जहाज तथा तिनका चालकलाई अमेरिकी सुरक्षासहित बाहिर निकालिने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् -‘हामीले ती देशहरूलाई पनि भनिसकेका छौं। उनीहरूका जहाजलाई सुरक्षित रूपमा जलमार्गबाट बाहिर निकाल्न मार्गदर्शन गर्नेछौँ, ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सकून्। ‘
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार सो अभियानमा करिब १५ हजार सैनिक परिचालन हुनेछ। त्यस्तै एक सयभन्दा बढी हवाई तथा समुद्री जहाजहरू, युद्धपोत र ड्रोन समेत परिचालन गरिने सेन्टकमलाई उद्धृत गरेर अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ।
‘व्यावसायिक जहाजहरूको आवागमन स्वतन्त्रता पुनःस्थापित गर्नु हाम्रो लक्ष्य हो,’ सेन्टकमले भनेको छ।
अमेरिकाको यो घोषणापछि हर्मुजमा तनाव झन् बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बेलायती समुद्री सुरक्षा निकायले फुजैरानजिक एउटा ट्यांकरमाथि अज्ञात प्रोजेक्टाइलबाट आक्रमण भएको जनाएको छ। घटनामा चालक दल सुरक्षित रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार जारी द्वन्द्वका कारण सैयौं जहाज र करिब २० हजार नाविकहरू उक्त जलमार्गमा रोकिएका छन्। पछिल्ला दुई महिनादेखि इरानले आफ्नाबाहेक अधिकांश जहाजको आवागमनमा रोक लगाउँदै आएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ।
ट्रम्पले अमेरिकी अभियानमा अवरोध गरे कडा रूपमा जवाफ दिइने चेतावनी दिदै भनेका छन – ‘हाम्रो प्रयासमा कुनै हस्तक्षेप भयो भने त्यसलाई बलपूर्वक सामना गरिनेछ। ‘
उता इरानले भने अमेरिकी पहलप्रति असन्तुष्टि जनाउँदै यस्तो कदमले युद्धविराम उल्लंघन हुनसक्ने संकेत दिएको छ। यसैबीच दुवै पक्षबीच शान्ति वार्ताको प्रयास जारी रहे पनि ठोस प्रगति भने हुन सकेको छैन। विश्लेषकहरूका अनुसार अमेरिकी पहलले हर्मुज जलमार्गमा रोकिएको व्यापारिक आवागमन खुलाउन मद्दत गर्न सक्छ, तर यसले थप सैन्य तनाव निम्त्याउने जोखिम पनि उत्तिकै रहेको छ।
इरानले अमेरिकासँगको वार्ता असफल भएपछि हर्मुज बन्द गरेको छ। अन्य देशलाई बन्द गरेर आफूले भने तेल बेचिरहेको भनेर अमेरिकाले पनि हर्मुजमा इरानलाई नाकाबन्दी गरेको छ। – एजेन्सी
