किम जोङको हत्या भए स्वतः आणविक हमला !
काठमाडौँ । उत्तर कोरियाले संविधानमा संशोधन गर्दै यदि, नेता किम जोङ उनको हत्या भए जवाफी कदम स्वरूप स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको अमेरिकाको ‘फक्स न्युज डिजिटल’ले बताएको छ।
इरानका सर्वोच्च नेता अली खामेनी र अन्य अधिकारीहरूको हालैको द्वन्द्वका क्रममा हत्या भएपछि बढ्दो विश्वव्यापी तनावका बीच यो परिवर्तन गरिएको ‘द टेलिग्राफ’को रिपोर्टलाई उद्धृत गर्दै ‘फक्स न्युज डिजिटल’ले जनाएको छ। खामेनी यसै वर्षको सुरुमा अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेसनका क्रममा तेहरानमा भएको इजरायली आक्रमणमा मारिएका थिए।
उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधनलाई अनुमोदन गरेको बताइएको छ। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले यसै हप्ता सरकारका वरिष्ठ अधिकारीहरूलाई यसबारे जानकारी गराएको समाचारमा उल्लेख छ। संशोधित नीतिले उत्तर कोरियाको नेतृत्व असक्षम भएमा वा मारिएमा गरिने प्रतिशोधात्मक कारबाहीको रूपरेखा तय गरेको हो।
संशोधन गरिएको प्रावधानमा भनिएको छ, ‘यदि, राज्यको आणविक बलमाथिको कमान्ड–एन्ड–कन्ट्रोल प्रणाली शत्रु शक्तिहरूको आक्रमणका कारण खतरामा परेमा तत्काल र स्वचालित रूपमा आणविक हमला सुरु गरिनेछ।’
रोयटर्सले यसअघि उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरी दक्षिण कोरियासँगको सीमालाई स्पष्ट तोकेको र दुई देशबीच एकता (रियुनिफिकेसन)का सन्दर्भहरूलाई हटाएको रिपोर्ट गरेको थियो। उत्तर कोरियाको संविधानमा सीमा समावेश गरिएको यो पहिलोपटक भएको बताइएको छ।
गत महिना किमले दक्षिण कोरियाप्रति कडा अडान राख्दै देशको आणविक क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए। दक्षिण कोरियालाई उनले सबैभन्दा शत्रुतापूर्ण राज्य भनेका छन्। किमले अमेरिकालाई पनि राज्य आतंकवाद र आक्रामकताको आरोप लगाउँदै बढ्दो विश्वव्यापी तनावका बीच वासिंटनको विरोधमा उत्तर कोरियाले थप सक्रिय भूमिका खेल्न सक्ने संकेत दिएका छन्। – एजेन्सी
