फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प !
काठमाडौँ । फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प गएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे भूकम्प गएको हो ।
भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक फरक विवरण सार्वजनिक गरेका छन् । तर अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ । त्यस्तै, जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ ।
प्रशान्त महासागरको सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका केही तटीय क्षेत्रमा ३ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाका केही तटीय भागहरूमा १ मिटरसम्मका छालको जोखिम रहेको बताइएको छ ।
भूकम्पको इपीसेन्टर जनरल सान्तोस सहरमा धेरै घर र भवनहरू क्षतिग्रस्त भएका छन् । प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्कालै उच्च स्थानतर्फ जान आग्रह गरेको छ । अधिकारीहरूका अनुसार भूकम्पपछि थप परकम्प (आफ्टरसक) आइरहेको छ ।
फिलिपिन्स विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो। यो प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिहरू हुने गर्छन् ।
