तीनकुने घटनामा संलग्न सिलवाल पक्राउ

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता सुधीरराज शाहीका अनुसार सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरिएको हो ।
अहिले सिलवाल काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । राजसंस्था पुनस्थापनाका लागि आन्दोलन भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा २ जना मारिए भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी गरिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।
यस क्रममा प्रहरीले केही दिनअघि मात्र त्यस प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंलाई समेत भारतबाट झिकाई हिरासतमा लिइसकेको छ ।