‘देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढ्यो’

२०८२ जेष्ठ ३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम उत्पादन बिभागद्वारा शुक्रबार कैलालीमा आयोजित `किसानसङ्ग विप्लव’ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो देशमा बढेको राजनीतिक बिकृति र दलालीकरणको कारण जनताले दु:ख पाएको उल्लेख गर्दै यहि दु:खलाई निराकरण गर्न कृषि उत्पादन र व्यापारतिर लाग्नुपर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले संसद्वादी राजनीतिक दल र नेताहरूले आफ्नो स्वार्थका लागि देशको दीर्घकालीन हित विपरीत सम्झौता गर्ने गरेको उल्लेख गर्दै देश आर्थिक हिसाबले परनिर्भर , बिदेशी ऋण र अनुदानमा चलेको ठोकुवा गरे । उनले पछिल्लो समय शिक्षा, स्वास्थ्य बाटोघाटो लगायत बिकासका केहि कुराहरूमा सुधार भएपनि कृषिलगायतका बिषयमा गम्भीररूपमा सोच्नुपर्ने बेला आएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले इष्ट ईन्डिया कम्पनीका कारण भारत करिब २ सय बर्ष पराधीन बनेको सन्दर्भ उल्लेख गर्दै नेपालमा पनि अहिले त्यस्तै अवस्था आएको बताए । उनले पार्टीलाई क्रमश: चन्दाबाट मुक्त गर्ने उदेश्यले उत्पादनमा फर्किएको बताउदै त्यस अनुसार उत्पादन सम्बन्धि नीति बनाएको ठोकुवा गरे । उनले भने- ‘अध्ययनहरुले तराईको जमिनबाट मात्रै १२ करोड लाई खान पुर्‍याउन सकिन्छ । तर अहिले ३ करोड मात्रै जनसंख्यालाई पनि पुगेको छैन । त्यो अवस्थालाई बदल्न पार्टीका नेताकार्यकर्ता श्रमशील बनाएर मात्रै जनता र समाजको वास्तविकता बदल्न सकिन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]