‘नेपालमा समाजवाद अनिवार्य भइ सकेको छ’

२०८२ जेष्ठ २६ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपालमा समाजवाद अनिवार्य भइ सकेको र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गरेका छन् । के नेपालमा क्रान्ति सम्भव छ भन्ने प्रश्नको जवाफ दिंदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् ।

प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विरुद्ध नयाँ ध्रूवको विकासले पैदा गरेको अनुकुलता र संभावनाहरुको परिचालन, देश भित्र दलाल पूँजीवादी राज्य व्यवस्थाको जर्जर एवम् पतनउन्मुख अवस्था, नेपाली जनताले विद्यमान व्यवस्था तथा दलाल नेतृत्वको विकल्प खोजी राखेको वास्तविकता र नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत नेपाली विशेषताको समाजवाद विकल्पको रुपमा प्रस्तुत गरिराखेको पक्षलाई दृष्टिगत गरी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिमार्फत नेपालमा समाजवाद संभव मात्र होईन कि अनिवार्य बनिसकेको र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्ने स्थिति नभएको बताए ।

प्रवक्ता प्रकाण्ड सीले भने– ‘साम्राज्यवादी शक्तिहरु जहिले पनि श्रमिक वर्गीय क्रान्ति र उत्पीडित राष्ट्रिय मुक्ति आन्दोलनका विरुद्धमा हुन्छन । भू–राजनीतिक अवस्था नेपालको विशिष्टता हो । २१ औँ सताव्दीमा बहुधुर्वीय विश्वको जन्म एक नयाँ विश्व विशेषता हो । बहुधु्रवीय विश्वले २० औँ सताव्दीको नब्बेको दशक पछि अमेरिकी शासकहरुले विश्वव्यापी हाँसिल गरेको साम्राज्यवादी प्रभुत्व सर्वाधिक संकटग्रष्त, अन्तरविरोधको भुमँरीमा जाकिएको र रक्षात्मक रणनीतिको शिकार भएको छ । यो आमरुपमा सवै साम्राज्यवादी शक्तिहरुको वर्तमान पतनोन्मुख अवस्था हो । यसर्थ जनक्रान्तिका निम्ति विश्व परिवेश अभुतपूर्ण अनुकुल छ ।

जहाँसम्म नेपाली एकीकृत जनक्रान्तिको कुरा छ । यो नेपाल कम्युनिस्ट पार्टीको विचार, कार्यक्रम, प्रभावकारी पहल कदमी र आज जनताको क्रान्तिप्रतिको लगाव मुख्य र निर्णायक तत्व हो । जुन एकपछि अर्को सुद्धढ, प्रभावकारी र जनप्रीय बन्दै गएको छ । अर्कोकुरा नेपालमा दलाल पूँजीपति वर्गको राज्यसत्ता झन पछि झन संकटग्रस्त बन्दै गएको छ । यसको राष्ट्रघाति र जनघाति चरित्र तथा हर्कतका कारण नेपाली श्रमिक जनता आजित भएका छन । राष्ट्र र नेपाली जनताको भविश्य अन्धकारमय बनाउने दलाल पूँजीपति वर्ग, यसको दलाल राज्यव्यवस्था र दलाल नेतृत्व हो भन्ने नेपाली श्रमजीवि जनताको निष्कर्ष छ । देश र नेपाली जनताले यो विकराल अवस्थाको अन्त्य चाहन्छन ।’

 यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपालमा उत्पीडित वर्ग, समुदाय र क्षेत्रको चरित्र अन्तरनिहित भएको राज्यसत्ता समाजवादी राज्यसत्ता भएको उल्लेख गर्दै भने– ‘उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताले शासन सञ्चालन गर्ने राज्य व्यवस्था भनेको नेपाली विेशेषताको समाजवादी राज्य व्यवस्था हो । यो सवाल आफ्नो सारतत्वमा राज्यसत्ता र शासन व्यवस्थाको सवाल हो । यसमा किन्चित दुविधा हुनु हुँदैन । नेपाली उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताको समाजवादी राज्यसत्ता र शासन व्यवस्था स्थापना गर्ने अस्त्र एकीकृत जनक्रान्ति तय गरेका छौ । नेपाली श्रमिक जनताको समाजवादी राज्यसत्ता र शासन व्यवस्था प्राप्तिको फैसला एकीकृत जनक्रान्तिको निर्णायक पहलुले मात्र गर्ने हो, अन्यले होईन ।

दलाल पूँजीवादी राज्यसत्ताको ध्वंस र नेपाली श्रमिक जनताको समाजवादी राज्य व्यवस्था स्थापनाको लक्ष्य राखेको एकीकृत जनक्रान्तिले साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध हजारौँ नयाँ संघर्षका मोर्चाको विकास, सञ्चालन र नेतृत्व गर्नु पर्दछ । २० औँ सताव्दीमा जस्तो सिमित मोर्चाको नेतृत्व गरेर भूमन्डलिकृत साम्राज्यवाद र दलाल पूँजीवादलाई अन्तिमरुपमा परास्त गर्न संभव छैन ।

हजारौ संघर्षका मोर्चा मध्ये एउटा मोर्चाको रुपमा दलाल पूँजीवादी राज्य व्यवस्थाले ०८४ सालमा आफ्नो हरेक ५–५ वर्षमा आयोजना गर्ने पूँजीवादी चुनावको सामना गर्न पार्टीले चुनाव प्रयोगको नयाँ नीतिको विकाश गरेको हो । कम्युनिस्ट क्रान्तिकारीहरु कुन भ्रम र आतङ्कबाट मुक्त रहनु प¥यो भने संसदीय चुनावको सामना गर्ने संघर्षको मोर्चाले समाजवादी राज्यसत्ताको प्रश्नको फैसला गर्ने होईन कि फैसलाको निम्ति तयारीको प्रभावकारी साधनको काम गर्ने हो । यसलाई तयारीको काविल साधन बनाउनु पर्छ । अर्को के सच्चाई पनि मनन् गर्नुप¥यो भने जनक्रान्तिमा श्रमिक वर्गको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध संघर्षको मोर्चा खोल्दैन कि साम्राज्यवाद र दलाल पूँजीवादले पनि श्रमिक जनताको क्रान्ति र क्रान्तिकारी पार्टीका विरुद्ध प्रतिक्रान्तिकारी मोर्चा खोल्छ । क्रान्तिकारीहरु यो मोर्चाको प्रतिवाद गर्न पनि त्यतिकै कुशल, सक्षम र तमतयार रहनु पर्दछ ।’

 यसैगरी, प्रवक्ता प्रकाण्ड सीले         राष्ट्रिय मुक्ति र जनमुक्तिका खातिर एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको पार्टी र नेतृत्व हुनुले नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी एकीकरण गर्ने र माओवादी धारको क्रान्तिकारी एकीकरण गर्ने अह्म ऐतिहाँसिक जिम्मेवारी काँधमा आएको बताउदै भने– ‘क्रान्तिकारी र इमान्दार कम्युनिस्टहरुको एकता एकीकृत जनक्रान्तिको वर्तमान आवश्यकता पनि बन्न पुगेको छ । उपरोक्त पक्षलाई विचार गरि हाम्रो पार्टी र नेतृत्वले एकताको नीति अगाडि सारेको हो । परिणामहरु मात्रात्मकरुपमा आइरहेका पनि छन । मात्रात्मक परिणामले गुणात्मक परिणामका आधारहरु पनि तयार पारिराखेका छन् ।

मोर्चा भनेको साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्धको संघर्षमा जनक्रान्तिको मोर्चाको विस्तार हो । समाजवादी मोर्चा त्यसैको उपज हो, जसले दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्न, नेपाली विशेषताको समाजवादको राजनीतिक कार्यक्रमलाई आम नेपाली जनताको वीचमा पु¥याउन र राष्ट्रिय राजनीतिमा नेपाली विशेषताको समाजवादलाई विकल्पको रुपमा स्थापित गर्न महत्वपूर्ण काम गरेको छ । राष्ट्रिय रुपमा इमान्दार नेता, कार्यकर्ता र नेपाली जनतालाई उत्साहित, आशावादी र सचेत पनि बनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनक्रान्तिको विजयको आवश्यकतामा मोर्चावन्दीको नीति विकास गर्ने र मोर्चा निमार्ण गरी संघर्ष सञ्चालन गर्ने हो । मोर्चा र कार्यगत एकतासम्बन्धी संघर्षका मोर्चा खोल्दा साम्राज्यवाद र दलाल पूँजीवादको कट्टर सत्तासिन गिरोहका विरुद्ध अन्तर विरोध राख्ने राजनीतिक पार्टी, संघ, संगठन र व्यक्तित्व सम्मत्ति खोलिने हो । त्यसमा संसद भित्र र बाहिरका कोही पनि पर्न सक्छन । त्यसमा कम्युनिस्ट क्रान्तिकारीहरु खुल्ला र लचक रहनु पर्दछ ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले पछिल्लो समयमा समाजवादी मोर्चा, नेपालको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गरिहेको उल्लेख गर्दै मोर्चामा संसदवादी प्रवृति र सोच समेत रहेको र त्यसले मोर्चाको क्रान्तिकारी एवम् प्रगतिशिल चरित्र र गतिशिलतामा ह्रास ल्याउने समस्या देखिएको बताए । उनले कतिपय बेला त संसदीय अभिष्ट पुरा गर्ने साधन बनाउन खोज्ने समस्या पनि देखिएको र मोर्चाले त्यसको सामना पनि गर्दै आएको बताउँदै भने– ‘अब देशको वस्तुगत अवस्थामा थप परिवर्तन आएको छ । सामन्ती दलाल तत्वहरु गणतन्त्र, एकीकृत जनक्रान्ति र समाजवादका विरुद्ध सडकमा अराजकता मच्चाउने र हिँसा भड्काउने हर्कत गरिरहेका छन् । विकशित वर्तमान अवस्थामा मोर्चालाई साम्राज्यवाद, दलाल पूँजीवाद र सामन्ती नव दलाल तत्वका विरुद्ध संघर्षको नयाँ मोर्चाको रुपमा विकाश गर्नुपर्ने वस्तुगत आवश्यकता पैदा भएको छ । यसलाई सम्बोधन गर्ने पहल पार्टीले गर्ने छ ।’

प्रतिक्रियाहरु

[anycomment]