‘आत्मनिर्भरता नै देशको स्वाधिन एबम् स्वाभिमानी भविष्य हो’

२०८२ असार ११ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले आत्मनिर्भरता नै देशको स्वाधिन एवं स्वाभिमानी भविष्य भएको बताएका छन् । सो पार्टीको मुख्य उत्पादनको अवसरमा मंगलबार एक भिडियो सन्देशद दिंदै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले उत्पादनको मूल लक्ष्य देश र जनतालाई आत्मनिर्भर बनाउने भएको बताउदै भने -‘पार्टीको मुख्य अभियान आज असार १० गतेबाट सुरु भएको छ । यो अवधि साउन १० सम्म चल्नेछ । यो बर्षको उत्पादन अभियानमा देशभरीको पार्टी उत्साहको साथ सहभागी बनेको छ । अभियानमा सहभागि सम्पूर्ण कमरेडहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । अभियानलाई विभिन्न सहयोग उपलब्ध गराउने सम्पूर्ण महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछौं ।
पार्टीले आत्मनिर्भर पार्टी, आत्मर्निभर नेता कार्यकर्ताको विचार निर्माण गरेर प्रयोग गरेपछि नेता कार्यकर्तामा फरक उत्साह, आत्मविश्वास, स्वाभिमान र प्रतिबद्धता पैदा भएको छ । स्थायी समिति, पिबि र केन्द्रीय समितिको नेतृत्वमा पार्टी पंक्ति उत्पादनमा सहभागी भइरहेको छ । अभियानमा इमान्दार कर्मचारी, व्यवसायी, राज्यका असल प्रतिनिधिहरुको सौहार्दपूर्ण सहयोग गर्नुभएको छ । प्राप्त सूचना अनुसार गतबर्ष भन्दा पचास प्रतिशतले बढी परिणाममा उत्पादन हुने आँकलन गरिएको छ । गतबर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर बनिसकेकाले यो बर्ष उपभोक्तासम्म धेरै परिणाममा पुर्याउन सकिने विश्वास लिएका छौं ।
कमरेडहरु, उत्पादन अभियान हाम्रो पार्टीले सञ्चालन गरेपनि यो देश र जनताको अभियान हो । तत्काल पार्टी, नेता र कार्यकर्ताको आत्मनिर्भरताका लागी भनेपनि यसको मूल लक्ष्य देश र जनतालाई नै आत्मनिर्भर बनाउने हो । हाम्रो दुई बर्षको अनुभवबाट यति भन्न सक्छौं कि यदि राज्यले सही मार्ग देखाउने हो भने र जनताले विश्वासका साथ काम गर्ने हो भने खान र लाउनका लागी विदेशी भूमिमा भौतारिनुपर्दैन । आफनै देशमा उच्च स्वाभिमानका साथ बस्न सकिन्छ । देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिन्छ । आत्मनिर्भरता नै देशको स्वाधिन एवं स्वाभिमानी भविष्य हो ।
तसर्थ आदरणीय जनसमुदाय, हामी एकताबद्ध भएर देशको नयाँ भविष्य निर्माणमा सहभागी बनौं ।’

प्रतिक्रियाहरु

[anycomment]