‘आत्मनिर्भरता बिना देश सम्बृद्ध र स्वाधीन हुनैं सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले आत्मनिर्भरता बिना देश सम्बृद्ध र स्वाधीन हुनैं नसक्ने ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशद्वारा असार २९ गते बाँकेमा आयोजित धान रोपाइमा सहभागी हुँदै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले समाजवादी व्यवस्थाको जग बसाल्न सिंगो पार्टीलाई उत्पादनमा केन्द्रीत गरेको बताउदै उत्पादन क्रान्ति विना नेपालमा समाजवादी व्यवस्था स्थापित हुन् नसक्ने बाए । उनले समाजवादी अर्थ व्यवस्थाको प्रारम्भिक आधार सहकारी भएको तर नेपालमा सहकारी भनेको जनताको पैसा जम्मा गरेर लुट्ने संस्थामा परिणत भएको बताए।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देश राजनीतिक , आर्थिकलगायत सबै क्षेत्रमा संकटग्रस्त बनेको तथ्य प्रस्तुत गर्दै कोही पनि जनताले यो देशमा आफ्नो भबिश्य नदेख्ने स्थिति पैदा गराउने षड्यन्त्र भइ रहेको बताए। उनले पार्टीको एकीकृत स्वामित्वको सिद्धान्त अन्तर्गत पार्टीको केन्द्रिय नीतिको प्रयोग गर्ने क्रममा बनाइएको योजनामा धान रोपाई सुरु गरिएको बताए। उनले एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण र प्रभावकारी मोर्चाको रुपमा उत्पादनलाई अगाडि बढाईएको बताउदै देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको ठोकुवा गरे।
प्रवक्ता प्रकाण्ड सीले आत्मनिर्भरता बिना सम्वृद्धि असम्भव भएको बताउदै कृषि प्रधान देशलाई टाट उल्ट्याउने साम्राज्यवादी षड्यन्त्र र दलाल पुँजीवादी हर्कतका बिरुद्धको प्रभावशाली मोर्चा भनेको उत्पादनको मोर्चा भएको बताउदै यसले आमपार्टी पङ्क्तिको आत्मविश्वास अभिवृद्धि गरेको र संघर्षशिल क्षमताको बिकास गरेको बताए। उनले देशका यी तमाम समस्याको समाधान गर्न एकीकृत जनक्रान्तिमार्फत् देशमा आत्मनिर्भर र स्वाधीन अर्थ व्यवस्थाको जग बसाल्न खोजेको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सिंगो पार्टी श्रममा सहभागी हुँदा राष्ट्रिय राजनीतिमा पार्टीको छबि र मनोबल धेरै उच्च भएको ठोकुवा गर्दै साम्राज्यवाद र दलाल पुँजीवादलाई रक्षात्मक बनाउने मोर्चाको रुपमा उत्पादन अभियान स्थापित भएको बताए। उनले नेपालको राजनीतिक आन्दोलनका इमान्दार नेता , कार्यकर्ता र आम नेपाली जनतालाई प्रभावित , आकर्षित र उद्देलित बनाएको बताउदै यसको नेतृत्व दृढता प्रभावकारीता र इच्छा शक्तिका साथ गर्न सिंगो पार्टी पक्तिलाई अपिल गरे। साथै नेपाली जनतालाई नेकपाको यस उत्पादन अभियानलाई साथ दिन , उत्पादन अभियानमा जोडिन समेत अपिल गरे।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशलाई स्वाधीन र अर्थतन्त्रलाई आत्मनिर्भर बनाएर देश र जनतालाई सम्वृद्धिको शिखरमा पुर्याउने र समाजवादी व्यवस्था स्थापना गराएरै छाड्ने उद्घोष गरे।
उक्त धान रोपाइमा नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपा बाँकेका इन्चार्ज रक्तिम सी,केन्द्रीय सदस्य विराट सी, केन्द्रीय सदस्यहरु नारायण सी, हिमशिखर सी लगायतका नेता – कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
नेकपाका केन्द्रीय सदस्य तथा नेकपाको उत्पादन विभाग सदस्य विराट सीका अनुसार करिव २ विगाह खेतमा धान रोपाई भएको छ ।
स्मरणीय छ , नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउन देशभर धान रोपिरहेको हो । नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको बताइएको छ।