नेकपाको उत्पादन अभियान एकीकृत जनक्रान्तिको नबिन मोर्चा (फोटो फिचर)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेकपाको कृषि उत्पादन अभियान एकीकृत जनक्रान्तिको नबिन मोर्चा भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशद्वारा असार २९ गते बाँकेमा आयोजित धान रोपाइमा सहभागी हुँदै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले आत्मनिर्भरता बिना २१ औं शताब्दीको जनक्रान्तिको विजय असम्भव हुने बताए । उनले नेकपाको कृषि उत्पादन अभियान एकीकृत जनक्रान्तिको नबिन मोर्चाभएको ठोकुवा गर्दै शक्तिशाली कम्युनिस्ट पार्टी र प्रगाढ जनसम्बन्ध उत्पादन मोर्चामा क्रान्ति बिना अकल्पनीय भएको बताए । उनले बिचार, व्यावहार र संस्कृतिको योग पार्टीले सञ्चालन गरेको उत्पादनको मोर्चा भएको समेत बताए ।

प्रवक्ता प्रकाण्ड सीले पार्टी र देशको आत्मनिर्भर अर्थ व्यवस्थाको राजनीतिक अर्थशास्त्र एकीकृत स्वामित्वको बिचार भएको तथ्य प्रस्तुत गर्दै विगत ३ वर्षदेखिको पार्टीको उत्पादन अभियानले लोकप्रियता र राष्ट्रिय राजनीतिमा प्रभावकारीता हासिल गरेको समेत बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले समाजवादी व्यवस्थाको जग बसाल्न सिंगो पार्टीलाई उत्पादनमा केन्द्रित गरेको बताउँदै उत्पादन क्रान्ति बिना नेपालमा समाजवादी व्यवस्था स्थापित हुन् नसक्ने बताए । उनले समाजवादी अर्थ व्यवस्थाको प्रारम्भिक आधार सहकारी भएको तर, नेपालमा सहकारी भनेको जनताको पैसा जम्मा गरेर लुट्ने संस्थामा परिणत भएको बताए ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देश राजनीतिक, आर्थिकलगायत सबै क्षेत्रमा संकटग्रस्त बनेको तथ्य प्रस्तुत गर्दै कोही पनि जनताले यो देशमा आफ्नो भविष्य नदेख्ने स्थिति पैदा गराउने षड्यन्त्र भइरहेको बताए । उनले पार्टीको एकीकृत स्वामित्वको सिद्धान्त अन्तर्गत पार्टीको केन्द्रीय नीतिको प्रयोग गर्ने क्रममा बनाइएको योजनामा धान रोपाई सुरु गरिएको बताए । उनले एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण र प्रभावकारी मोर्चाको रुपमा उत्पादनलाई अगाडि बढाईएको बताउँदै देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिवार्य भएको ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्ड सीले आत्मनिर्भरता बिना सम्वृद्धि असम्भव भएको बताउँदै कृषि प्रधान देशलाई टाट उल्ट्याउने साम्राज्यवादी षड्यन्त्र र दलाल पूँजीवादी हर्कतका विरुद्धको प्रभावशाली मोर्चा भनेको उत्पादनको मोर्चा भएको बताउँदै यसले आमपार्टी पङ्क्तिको आत्मविश्वास अभिवृद्धि गरेको र संघर्षशिल क्षमताको विकास गरेको बताए । उनले देशका यी तमाम समस्याको समाधान गर्न एकीकृत जनक्रान्तिमार्फत् देशमा आत्मनिर्भर र स्वाधीन अर्थ व्यवस्थाको जग बसाल्न खोजेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सिंगो पार्टी श्रममा सहभागी हुँदा राष्ट्रिय राजनीतिमा पार्टीको छबि र मनोबल धेरै उच्च भएको ठोकुवा गर्दै साम्राज्यवाद र दलाल पूँजीवादलाई रक्षात्मक बनाउने मोर्चाको रुपमा उत्पादन अभियान स्थापित भएको बताए । उनले नेपालको राजनीतिक आन्दोलनका इमान्दार नेता, कार्यकर्ता र आम नेपाली जनतालाई प्रभावित, आकर्षित र उद्देलित बनाएको बताउँदै यसको नेतृत्व दृढता प्रभावकारीता र इच्छा शक्तिका साथ गर्न सिंगो पार्टी पक्तिलाई अपिल गरे । साथै नेपाली जनतालाई नेकपाको यस उत्पादन अभियानलाई साथ दिन, उत्पादन अभियानमा जोडिन समेत अपिल गरे ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशलाई स्वाधीन र अर्थतन्त्रलाई आत्मनिर्भर बनाएर देश र जनतालाई सम्वृद्धिको शिखरमा पु¥याउने र समाजवादी व्यवस्था स्थापना गराएरै छाड्ने उद्घोष गरे ।
उक्त धान रोपाइमा नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपा बाँकेका इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य विराट सी, केन्द्रीय सदस्यहरु नारायण सी, हिमशिखर सी लगायतका नेता– कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा नेकपाको उत्पादन विभाग सदस्य विराट सीका अनुसार करिव २ विगाह खेतमा धान रोपाई भएको छ ।
स्मरणीय छ, नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउन देशभर धान रोपिरहेको हो । नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको बताइएको छ ।