नेकपाद्वारा भारत र चीनबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारत र चीनबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह गरेको छ। सो पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै भारत र चीनका विदेश मन्त्रीहरु बीच गरिएको अन्यायपुर्ण र राष्ट्रघाति सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई विशेष अपिल गर्दै सो सहमति खारेजीका निम्ति पहल लिन नेपाल सरकार संग जोडदार माग गरेका छन्।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –
‘चीनीयाँ विदेश मन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकर बीच वार्ता भई गरिएको १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक पास, शिम्किला पास र नाथुला पास मार्फत सिमापार व्यापार पुनः शुरु गर्न गरिएको सहमति प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताको चासो गम्भिर रुपमा आकर्षित भएको छ ।
नेपालको सार्वभौम र अखण्ड भूभागका बारेमा दुई देश बीच सिमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्दा नेपाल र नेपाली जनतालाई सुचना समेत नहुनुले यी दुई देशको अहंकार, हस्तक्षेपकारी एवं अतिक्रमणकारी रवैया उजागर भएको छ । हाम्रो देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथिको आक्रमणको हाम्रो पार्टी घोर निन्दा र कडा भ्रत्र्सना गर्दछ ।
दुई देशका विदेश मन्त्रीहरु बीच गरिएको अन्यायपुर्ण र राष्ट्रघाति सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई हामी विशेष अपिल गर्दै सो सहमति खारेजीका निम्ति पहल लिन नेपाल सरकार संग जोडदार माग गर्दछौँ ।’
