हातको इसाराबाट कन्ट्रोल गर्न मिल्ने ‘स्मार्ट चस्मा’ सार्वजनिक

२०८२ आश्विन ४ गते, शनिबार


काठमाडौँ । हातको इसाराबाट कन्ट्रोल गर्न मिल्ने ‘स्मार्ट चस्मा’ सार्वजनिक भएको छ । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो वार्षिक डेभलपर सम्मेलन ‘मेटा कनेक्ट’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख मार्क जुकरबर्गले सनग्लास ब्राण्ड रे-बान र ओक्लेसँगको साझेदारीमा बनेका डिभाइस घोषणा गरेका हुन् । मेटा रे-बान डिस्प्लेलाई सबैभन्दा आकर्षणको रूपमा प्रस्तुत गरिएको छ । जसको मूल्य ७९९ अमेरिकि डलर तोकिएको छ । यो चस्माको मुख्य विशेषता यसको दाहिने लेन्सभित्र रहेको पूर्ण रंगको उच्च-रिजोलुसन युक्त स्क्रिन हो । यो स्क्रिनमा प्रयोगकर्ताले भिडिओ कल गर्न, मेसेज हेर्न, दिशाहरू प्राप्त गर्न र अनुवाद हेर्न सक्छन् । यसमा १२ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । चस्माको डिजाइन क्लासिक वेफेरर जस्तै छ, ताकि यो धेरै प्राविधिक नदेखियोस् । यो चस्मासँगै मेटा न्युरल ब्यान्ड नामक एक रिस्टब्यान्ड पनि आउँछ । यो ब्यान्डले हातका ससाना इसाराहरूलाई पहिचान गरेर चस्माको डिस्प्ले नियन्त्रण गर्न मद्दत गर्दछ । यसले इलेक्ट्रोमायोग्राफी (EMG) प्रविधि प्रयोग गरेर मस्तिष्क र हातबिच पठाइएका सङ्केतहरू पढ्ने दाबी समेत गरिएको छ ।
मेटाले ओक्ले मेटा भ्यानगार्ड र रे बान मेटा (सेकेन्ड जेनेरेसन) गरी अन्य दुई मोडलहरू पनि सार्वजनिक गरेको छ । ओक्ले मेटा भ्यानगार्ड खेलकुदमा रुचि राख्नेहरूका लागि डिजाइन गरिएको हो, जसको मूल्य ४९९ अमेरिकी डलर राखिएको छ । यसले गार्मिन (Garmin) का उपकरणहरूसँग जोडिएर दौड वा अन्य गतिविधिका क्रममा दौडको गति, मुटुको धड्कन र दूरी जस्ता डेटाहरू देखाउन सक्छ ।
मार्क जुकरबर्गले यो प्रविधिलाई ‘ठुलो वैज्ञानिक सफलता’ भनेका छन् । उनले मेटाका एआई उपकरणलाई मानिसहरूको जीवनमा एकीकृत गर्ने बताउँदै आएका छन् । यी चस्माले प्रयोगकर्ताको फोनसँग ब्लुटुथ मार्फत जोडिएर काम गर्दछ । यसमा भएको डिस्प्लेको रिजोलुसन ६००x६०० पिक्सेल छ र यसको ब्राइटनेस ५,००० निट्ससम्म पुग्न सक्छ । जसले गर्दा घाममा पनि डिस्प्ले स्पष्टसँग हेर्न सकिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]