‘जेन-जी आन्दाेलन उपयुक्त र अपरिहार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी ‘विषम’ ले जेन-जी आन्दाेलन उपयुक्त र अपरिहार्य भएको बताएका छन।
नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता सन्तोष सीले जेन जी आन्दोलन उपयुक्त र अपरिहार्य भएको उल्लेख गर्दै यसका उपलब्धी जोगाउन पार्टी कुनै पनि चुनौती सामना गर्न पछि नपर्ने नहुने बताए । उनले भने- ‘आन्दोलनको म्याण्डेटभन्दा बाहिर गएर सरकार गठन गरियो । नेपाल विदेशी शक्तिको क्रियास्थल बनेको छ। भूराजनीतिक चलखेल बढेको छ।’
यसैगरी, नेता सन्तोष सीले लामो असन्तुष्टि, भ्रष्टाचार र नेतृत्वको असफलताले नै विद्रोह जन्माएको स्पष्ट पार्दै भूराजनीतिक चलखेलले देशलाई रणभूमि बनाइरहेको भन्दै नयाँ राजनीतिक निकास खोज्नुपर्ने बताए ।
यसैगरी, नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले पार्टीले सञ्चालन गरेको ६ दिने अभियानबारे जानकारी दिँदै पुराना दलहरूलाई जनताको विश्वास गुमाएको ठोकुवा गरे । उनले क्रान्तिकारी शक्तिको ध्रुवीकरण आवश्यक रहेको बताए ।
नेकपाका केन्द्रीय सदस्य प्रकाश सीले सहजीकरण गरेको उक्त कार्यक्रममा बाेल्दै जेनजी प्रतिनिधि रविन केसीले पुराना दलहरूले सत्ता कमाउने साधन बनाएको भन्दै भ्रष्टाचार अन्त्य नभएसम्म विद्रोह जारी रहने चेतावनी दिए ।
यसैगरी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाह र प्रेस चाैतारी लुम्बिनी इञ्चार्ज टीकाबहादुर बस्नेतले विद्रोहले असन्तुष्टिको स्वरलाई उजागर गरेको तर समाधानका लागि साझा दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।
उक्त कार्यक्रममा नेकपा एमाले लमहीका अध्यक्ष रतन केसी, माओवादी केन्द्र लमहीका दीलकुमार श्रेष्ठ, एकीकृत समाजवादी लमहीका शशी परियार, नगर वडाध्यक्ष सागर सुवेदी, शिक्षकहरू शरद भट्टराई, वसन्त रिजाल, वसन्त अधिकारी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, लमही क्रिकेट संघका प्रेम पुलामी, उद्योग परिसर लुम्बिनीका प्रतिनिधि रेशम केसी, युवा आकाश शर्मा र युवराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।