‘वर्तमान राष्ट्रिय संकटको निकास विद्यमान संविधान र मृत संसद हुनै सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले वर्तमान समस्याको समाधान विद्यमान संबिधान र मृत संसद हुनै नसक्ने ठोकुवा गर्दै राजनीतिक आन्दोलन, जनक्रान्ति र जेन जिको विद्रोहको धरातलमा खोज्नु पर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी काठमाडौद्वारा बुधबार आयोजित ‘जेन जी बिद्रोह र राजनीतिक निकास’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले वर्तमान राष्ट्रिय संकटको निकास सर्वपक्षीय अन्तरिम सरकार मात्र हुन सक्ने ठोकुवा गरे । उनले जेन–जीको विद्रोह दलाल पूँजीवादी राज्य व्यवस्था र त्यसले देश र नेपाली जनताको जीवनमा ल्याएको विपदको उपज भएको ठोकुवा गर्दै वर्तमान राज्य व्यवस्थाको नयाँ संरचना र संविधानको नयाँ लेखन गरेर मात्र वर्तमान समस्याको समाधान र जेन–जीको मुद्दाको सम्बोधन हुने बताए । उनले राष्ट्रको सामु आएको बिकराल समस्याको निरुपण गर्न र जेन–जको मुद्दाको सम्बोधनको लागि सर्वपक्षीय अन्तरिम सरकार अनिवार्य भएको बताउँदै त्यसका लागि राजनीतिक र जनप्रिय व्यक्तित्वको नेतृत्व अपरिहार्य भएको बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले जेन–जीको विद्रोहलाई नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्ध आफ्नो राजनीतिक स्वार्थपूर्तिको साधन बनाउने धृष्टता गर्ने साम्राज्यवादी षड्यन्त्र खरानाक भएको उल्लेख गर्दै यसप्रति देश र नेपाली जनता सचेत बन्नु पर्ने बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न साम्राज्यवादी षड्यन्त्र परास्त गर्न र कम्युनिस्ट आन्दोलनलाई विजयी गराउन नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नु अपरिहार्य भएको बताउँदै त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीहरु तयार हुनु पर्ने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेन–जीको विद्रोह पछिको बद्लिँदो परिस्थितिमा राष्ट्रिय स्वाधीनताको मुद्दा प्रधान बनेका कारण कम्युनिष्ट, लोकतान्त्रिक र देशभक्त बीचको मोर्चावद्ध सहकार्य वर्तमान समयको अपरिहार्य आवश्यकता बन्न गएको बताए । उनले राष्ट्रिय र जनमुक्तिका लागि उपरोक्त बिचार, प्रवृति र शक्तिको बीचमा सहकार्य गर्नु आवश्यक भएको र यसका निम्ति नेपाल कम्युनिस्ट पार्टी खुला र तयार भएको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वार्तामा समस्याको निकास अहिलेको संविधान र संसदभित्रबाट हुन नसक्ने ठोकुवा गर्दै गत भदौ २३ र २४ को जेन–जी विद्रोह अन्ततः संसदीय व्यवस्था र संविधानको नै असफलताको परिणाम भएको बताए । उनले सरकार मात्रै फेरबदल गरेर वर्तमान समस्याको समाधान हुन् नसक्ने उल्लेख गर्दै सत्ताको पुनर्संरचना र संविधानको पुनर्लेखनबिना विद्रोहको म्याण्डेट पुरा हुन नसक्ने बताए । उनले भने– ‘जेन–जी विद्रोह भ्रष्टाचार र कुशासन विरुद्ध जनतको आक्रोश हो यदि उक्त कुरालाई समाधान गर्ने हो भने भ्रष्टाचार जन्माउने राजकीय संरचनाहरु नै बदल्नु पर्छ र संविधान पुनर्लेखन गर्नु पर्छ अन्यथा प्रतिक्रान्ति र विदेशी षड्यन्त्र हाबी हुनेछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकट समाधानको लागि क्रान्तिकारी, परिवर्तनकारी र आन्दोलनकारी राजनीतिक शक्तिको संयुक्त सरकार बनाउनु पर्ने र उक्त सरकारमार्फत जेन–जी बिद्रोहलगायत विगतका आन्दोलनका अपेक्षा पुरा गर्न काम गर्नुपर्ने बताए । उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र राज्यको पुनर्संरचना गरेर देशलाई अग्रगामी निकास दिनुपर्ने बताउँदै भने– ‘कम्युनिस्ट आन्दोलन आफ्नो आन्तरिक कारणले नै कमजोर भएकोले आन्दोलनलाई फेरिएको परिस्थिति र जनताको मागबमोजिम पुनर्गठन गर्नु अनिवार्य भएको छ । साम्राज्यवादी शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्न सक्रिय छन् । कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति विरुद्धको षड्यन्त्रको एउटा उदाहरण हालै जेन–जी आन्दोलनमा भएको घुसपैठ, विध्वंस र त्यसपछि सरकार निर्माण प्रक्रियामा देखिएको बाह्य पहल हेर्दा पनि हामी कहाँ छौं स्पस्ट देख्न सकिन्छ । त्यसैले अब जति छिटो हामी आफ्ना कमजोरी सच्याएर अगाडि बढ्छौ, त्यति नै देशले निकास पाउँछ अन्यथा कम्युनिस्ट पार्टीहरुको भविष्य समेत खतरामा पर्न सक्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कम्युनिस्ट आन्दोलन भित्र र सरकारमा पुगेका कम्युनिस्ट पार्टी र नेताहरुका कमजोरीका कारण केही समस्या थपिएको भएपनि कम्युनिष्ट पार्टी र समाजवादको भविष्य नै उज्ज्वल रहेको उल्लेख गर्दै सबै कम्युनिस्ट पार्टीहरुले अब नयाँ ढङ्गले सोच्नु पर्ने बेला आएको बताए । उनले साम्राज्यवादीको आक्रमणबाट कम्युनिस्ट आन्दोलन रक्षा गर्न जरुरी रहेको बताउँदै नेकपाले बिचार मिल्ने पार्टीसँग एकता र तत्काल एकता सम्भव नभए पुनर्गठनको उद्देश्य सहित कार्यगत एकता वा मोर्चा निर्माणका लागि वार्ता टोली समेत बनाएर छलफल अगाडि बढाउने निर्णय गरेको बताए । – क्षेप्यास्त्र साप्ताहिकवाट