जेनजी विद्रोहको कारक शासकको अहंकार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जेनजी विद्रोहको कारक शासकको अहंकार भएको ठोकुवा गरेका छन् । सो पार्टीद्वारा बिहिबार सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै आयोजना गरेको जनप्रदर्शन पछि आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताउदै भने- ‘भ्रष्टचारहरूले अटेर गर्दै नसुनेपछि, मुर्खता गर्दैगएपछि, जनतालाई यी केही पनि होइनन् जे गरे पनि हुन्छ भन्ने ठान्न थालेपछि , प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो। ’
यसैगरी, महासचिव विप्लव सीले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताए । उनले जनताको अवस्था परिवर्तनका लागि जनयुद्ध लडेको तर त्यो पार नलगेको बताउदै जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए । उनले भने- ‘हामीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्छ, हाम्रो पार्टीले लडेकै हो तर हाम्ले पार लगाउन सकेका थिएनौं, विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरू तर जनताले पार लगाउन गाह्रो भएको थियो, जनयुद्ध बीचमै तुहिएको थियो त्यसलाई पार लगाउन सकेको थिएन ।’
यसैगरी, महासचिव विप्लव सीले जेन–जी विद्रोह असफलतातिर गइरहेको बताए । उनले सरकार, सदन, कानून, प्रशासन सबैतिरबाट विदेशी दलालहरुले आफ्नो नियन्त्रणमा राखेर केही पनि हुँदैन भन्ने भ्रम नेपाली जनतामा फैलाइएको र आहिले आफ्नो–आफ्नो स्वार्थको रोटी सेक्ने र डम्फु बजाउने भन्दा पनि अधुरो क्रान्तिलाई पूरा गर्ने समय रहेको बताउदै भने- ‘अहिले कसैको आदेश सुनेर बस्नुपर्ने होइन । संसद् विघटन त भएको छ । तर, भ्रष्टाचारीहरु आज खुल्ला बजारमा भाषण गर्दै हिँड्न थालेका छन् । यो देशलाई लुट्ने लुटेराहरु, भ्रष्टाचारीहरु हामी नाङ्गै आँखाले देख्दैछौं। ’

यसैगरी, महासचिव विप्लव सीले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताउदै भने – ‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो। बहिरो थियो। निरंकुश थियो। मुर्ख बन्दै गएको थियो। जनताविरुद्ध तानाशाही बन्दै गएको थियो। जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए।’
यसैगरी, महासचिव विप्लव सीले रूपान्तरणसहित एकता नभए गणतन्त्र खरानी हुने निश्चित भएको बताए । उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नौ दलबीचको एकतालाई नवरशको रमाइलो देखिएको भन्दै व्यंग्य गर्दै भने – ‘हिजो यही भृकुटीमण्डपमा रमाइलो पनि देखियो नवरशमा हाम्रो रश मिसिएन। यथास्थितिमा हाम्रो रस मिसाउन मन लागेन। नेपालका कम्युनिष्टहरूबीच एकता आवश्यक छ। हामी पनि एकताको पक्षमा रहँदै आएका छौं। तर, कस्तो एकता? कहाँ पुग्ने एकता? रुपान्तरणसहित एकता गरिएन भने २०६४ मा गणतन्त्र आयो आयो भनेर खुसी मनाएकाहरूले त्यही गणतन्त्र खरानी हुने अवस्थामा पुगेकोमा चिन्ता गर्नु पर्ने अवस्था आएजस्तो हुन्छ।’

यसैगरी, महासचिव विप्लव सीले जनताको सत्ता नआएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन हुन नसक्ने बताउदै भने- ‘जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ । तर राज्यसत्ता जनताले बनाएपछि मात्र जानुपर्छ । आजको दिनमा सम्भव छैन। आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि पैसाको बलमा एनजिओ डाँकाहरू विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाउनुपर्नेछ । लखेट्नुपर्नेछ । यी सबै भएपछि मात्र बल्ल निष्पक्ष चुनाव हुन्छ ।’
यसैगरी, महासचिव विप्लव सीले भ्रष्टाचारीलाई आजीवन कारावास सजाय हुनुपर्ने बताए । उनले त्यसका लागि नागरिक आयोगको सिफारिसमा निष्पक्ष फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक भएको बताउदै भने- ‘जेनजी विद्रोहपछि पनि भ्रष्टाचारी अहिले खुलेयाम सडकमा आएका छन् । नेपालमा एउटा शक्तिशाली नागरिक आयोग जरुरी छ । नागरिक आयोगले सिफारिस गरेपछि फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक छ । नागरिक आयोगले छानबिन गरेको फैसला अन्तिम हुनुपर्छ। यहाँ विशेष अदालत छ तर डमी नक्कली छ । भ्रष्टाचारीले सर्वोच्च अदालतमा झन् धेरै घुस खुवाएर सफाइ पाएर निस्कन्छ । जनताको पैसा लुट्ने । भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय हुनुपर्छ । अहिले मार्नु वा फाँसीको कुरा त गर्नु भएन । तर भ्रष्टाचारीलाई नाै पुस्ताले नबिर्सने गरी जेलमा सडाउनुपर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय सरकारको रुपमा बदल्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा अध्यारो कुनाबाट रहस्यमय तरिकाले अन्तरिम सरकार घोषणा गरिएको तथ्य प्रस्तुत गर्दै वर्तमान सरकारले आन्दोलनकारीहरुको माग नसमेटेको, लडेर आएका शक्तिहरुको कदर नगरेको, भ्रष्टाचारको विरुद्धमा लड्ने शक्तिहरुको सम्मान नगरेको बताए । उनले विदेशमा बसेर सम्झौता गर्ने, नेपालमा राज्य चलाउने प्रवृत्तिले नेपाली जनतालाई लज्जित बनाएको उनले बताए । यसलाई सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नु आजको आवश्यकता रहेको बताउदै भने – ‘सुशीलाजीको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्न जरुरी छ । यो सरकारमा को आयो, किन आयो, कसले ल्यायो ? नेकपा १२ वर्षदेखि भ्रष्टाचारको विरुद्धमा लड्दैछ । नेकपालाई किन सोधिएन ? नेकपा जस्तै अरु दलहरु लडिरहेका छन् नेपालमा, अन्तरिम सरकार कस्तो हुनुपर्छ भनेर कसले भनेन ?’
यसैगरी, महासचिव विप्लव सीले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताए । उनले भने- ‘हाम्रो स्वाधीनता संकटमा छ। हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ। समय छँदै अरु देशको दलाली गर्न दलहरूले बन्द गरेनन् र मित्र हुँ भन्दै हस्तक्षेप गर्ने विदेशीले आफ्नो कदम रोकेनन् भने हामी अप्ठरो अवस्थामा पुग्नेछौं।’
महासचिव विप्लव सीले नेकपा हुँदासम्म साम्राज्यवादीको घुसपैठ सफल हुन नदिने ठोकुवा गर्दै भने- ‘साम्राज्यवादी घुसपैठ हामीलाई स्वीकार्य छैन। मित्र देश हुन भने सहकार्य गर्न तयार छौं। हस्तक्षेपको मनसाय राख्नु हुँदैन भनेर हामी अमेरिका, भारत, चीन सबैसँग हातेमालो गर्न तयार छौं। नभए यो अमर सिंह, भक्ति थापाहरूको देश हो भन्ने सबैले हेक्का राख्न पनि आग्रह गर्दछौ। ’
