नेकपाका नेताद्वारा दल दर्ताका लागि सनाखत
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले दल दर्ताको लागि निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । शुक्रबार सो पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सीलगायतका नेताहरु दल दर्ताका निम्ति सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए ।
गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू शुक्रबार सनाखत गर्न पुगेका हुन् ।
दल दर्ताका निम्ति सनाखत गर्न निर्वाचन आयोग पुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रत्रकार माँझ निर्वाचन पनि संघर्षको एउटा मोर्चा भएकोले पार्टी निर्वाचन आयोगमा दर्ता गर्न लागेको बताए । उनले देश र जनताको मुक्ति कै लागि पार्टीले चुनावमा जाने नीति लिएको बताए।
यसैगरी,, सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाले दल दर्ताको सनाखत गरेको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने बताए। उनले नेकपाले पहिलोपटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको बताउदै भने- ‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ। निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’
प्रवक्ता प्रकाण्ड सीले झण्डै ११ वर्षदेखि नेकपाले देश र जनताको पक्षमा काम गरिरहेको बताउदै जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए । उनले भने- ‘नेपालको राजनीतिक आन्दोलनमा, परिवर्तनको आन्दोलनमा, क्रान्तिको आन्दोलनमा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफैं अधिकारको कुरा, जनताको मुद्दाको कुरा, सिस्टमको कुरा, चाहनाको कुरालाई आफैं फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई अवरोधबिना फैसला गर्न पाउने विधि भनेको निर्वाचनको विधि हो, हाम्रा विगतका आफ्ना अनुभव पनि छन् । अहिलेको आवश्यकतालाई नीतिलाई जनताको माग अनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्नेछ ।’
स्मरणीय छ , प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ ।
