देशको वर्तमान समस्याको एकमात्र सर्वस्वीकार्य समाधान राज्यको अग्रगामी पुनर्संरचना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान समस्याको एकमात्र सर्वस्वीकार्य समाधान राज्यको अग्रगामी पुर्नसंरचना मात्रै हुन् सक्ने ठोकुवा गरेका छन् । देशको वर्तमान संकटग्रस्त राजनीतिको सर्वमान्य र अग्रगामी निकास के हुन सक्छ ? भन्ने प्रशनको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले देशको संकटग्रस्त अवस्थाको जिम्मेवार तत्व दलाल पूँजीपति वर्ग, दलाल संसदीय राज्य व्यवस्था र दलाल नेतृत्व भएको ठोकुवा गर्दै विगतमा नेपाली जनताले गरेको संघर्ष, ११ वर्षदेखि चलाएको एकीकृत जनक्रान्ति र वर्तमान जेन–जी विद्रोह उपरोक्त समस्याको अन्त्य गर्नका निम्ति भएको बताए । उनले दलाल पूँजीवादी संसदीय राज्य व्यवस्था र दलाल एवं भ्रष्ट नेतृत्वको पुर्नसंरचना नै विगत जनसंघर्ष, जनक्रान्ति र जेन–जी विद्रोहको उद्देश्य एवं आम जनचाहना भएको उल्लेख गर्दै भने– ‘देश र जनताका अगाडीका डरलाग्दा समस्याको एकमात्र सर्वस्वीकार्य समाधान भनेको राज्यको अग्रगामी पुर्नसंरचना नै हो । देशको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारलाई स्थापित गर्ने अग्रगामी वा क्रान्तिकारी राजनीतिक मार्गचित्र भनेको नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो । यो लक्ष्य देशलाई पु¥याउनका निम्ति परिपुरक अन्तरिम राजनीतिक कार्यक्रम आवश्यक छ । यसको परिपूर्ति गर्न जेन–जी विद्रोहपछि पार्टीले आयोजना गरेको केन्द्रीय समितिको तेस्रो विशेष बैठकबाट सुशीला कार्की नेतृत्वको कथित अन्तरिम सरकारको राजीनामा र स्वच्छ राजनीतिक व्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकारको गठन, राज्यको पुर्नसंरचना, संविधानको पुर्नलेखन वा नयाँ लेखन, नयाँ जनादेश लिन साम्राज्यवादी हस्तक्षेप रहित नेपाली जनताले स्वनिर्णयको राजनीतिक अधिकारको निर्विवाद प्रयोग गर्न पाउने आम निर्वाचन, आवश्यकताको सिद्धान्त आकर्षित गरी अन्तरिम कार्यका निम्ति नीति, कानुन र विधिको निर्माण, अर्थतन्त्रलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्नका निम्ति भ्रष्टाचारीलाई कारवाही गर्न स्वच्छ छवि भएका विज्ञ सम्मिलित भ्रष्टाचार छानबिन आयोगको गठन, भ्रष्टाचारीलाई सर्वश्व जफत सहित आजीवन जेल सजाय दिन अधिकार सम्पन्न विशेष अदालतको गठन, देशभित्र रोजगारी सिर्जना गरी विदेशिन वाध्य लाखौँ युवालाई स्वदेश फिर्ता, जनताको आवास, शिक्षा, स्वास्थ्यको राज्यद्धारा निशुल्क व्यवस्था, भूमिहीन किसानलाई निशुल्क जमिनको व्यवस्था, देशको अर्थव्यवस्था माथि साम्राज्यवादी निगम पूँजीको हस्तक्षेप बढाउने संयन्त्रको काम गर्ने आइएनजिओ माथि प्रतिवन्ध र नेपाली जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै साम्राज्यवादी धर्म परिवर्तन र धार्मिक अतिक्रमणमा प्रतिवन्धलगायतका राजनीतिक कार्यक्रम अगाडी सारेको छ ।
प्रवक्ता प्रकाण्ड सीले नेकपा नेपाली जनताको मुक्तिको विचार बोकेको, जनताको मुद्धामा आजीवन संघर्ष गरेको, नेपाली जनताले आशा एवं अपेक्षा गरेको निश्कलंक पार्टी र जेन–जी विद्रोहपछि नेपाली जनताले राष्ट्रिय राजनीतिमा खोजेको नयाँ वैकल्पिक पार्टी एवं नेतृत्व भएको ठोकुवा गरे । उनले नेपाली जनताले नेकपा र यसको नेतृत्वलाई आफ्नो जिम्मेवारी विस्वासका साथ दिन्छन भन्ने पार्टी र आपूmलाई पूर्ण भरोसा भएको बताउदै भने– ‘राष्ट्रको स्वाधिनता र नेपाली जनताको मुक्तिको प्रतिनिधि पार्टी एवं नेतृत्व हुनुले नेपाली जनताको साथ नेकपालाई रहनेछ भन्ने अगाध विश्वास छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था र संसदीय राज्य व्यवस्था दुई फरक–फरक राज्य व्यवस्थाभएको तथ्य प्रस्तुत गर्दै नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था राष्ट्रिय स्वाधिनता, उत्पीडित वर्ग, समुदाय, महिला र उत्पीडित क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने राजनीतिक व्यवस्था भएको र संसदीय व्यवस्था राष्ट्रघाति र जनघाति दलाल पूँजीवादी लुटेरा भ्रष्टाचारीहरुको व्यवस्था भएको ठोकुवा गरे । उनले यी दुई व्यवस्था विपरीत वर्गका राज्य व्यवस्था भएको उल्लेख गर्दै भने– ‘दलाल संसदीय व्यवस्थाबाट नेपाली विशेषताको समाजवाद आउने होइन कि यसका विरुद्धको संघर्षका नयाँ मोर्चाको खोज र विकासले नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्न तयारीको काम गर्ने हो ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नयाँ कम्युनिष्ट केन्द्र नेपलको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकता र हाम्रो राष्ट्रको स्वाधिनता माथि साम्राज्यवादी नाङ्गो हस्तक्षेप एवं दलाल पूँजीवादका विरुद्धको संघर्षका मोर्चाको वर्तमान आवश्यकतालाई आधार बनाएर अगाडी सारिएको नयाँ बिचार भएको बताए । उनले यसको अभावमा स्वाधिनता र समाजवाद मृगपरिचाका हुने खतरा हुने ठोकुवा गर्दै भने– ‘नयाँ कम्युनिष्ट केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ शुद्धिकरण एवं एकीकरणको विचार पनि हो । यो नेपाली कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रुपान्तरणको क्रान्तिकारी आन्दोलन पनि हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट खराब तत्वहरुको वहिर्गमन र कम्युनिष्ट आन्दोलन भित्र भएका क्रान्तिकारी नेता एवं कार्यकर्ताहरुको प्रविष्ट निरन्तर भइरहन्छ । नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको ऐतिहासिक पहलकदमी लिइराखेको नेकपाको जीवनमा लागु भएको शुद्धिकरणको नियमको रुपमा क्रान्तिकारीहरुको आगमन र अवसरवादीहरुको पलायनलाई बुझ्नुपर्छ ।’
