कृत्रिम खुट्टाको सहारामा सातै महादेशका शिखर आरोहण !

२०८२ पुष २८ गते, सोमबार


काठमाडौँ । कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गर्दै हरि बुढामगरले विश्वका सातवटै महादेशका अग्ला शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही पुस २२ गते माइनस २५ डिग्री चिसोकाबीच शिखरमा पाइला टेक्नुभएको हो ।
पूर्व गोर्खा सैनिकसमेत रहनुभएका ४६ वर्षीय बुढामगर रोल्पाको मिरुल गाउँमा जन्मिनुभएको हो । सन् २०१० मा अफगानिस्तानमा भूमिगत बम विस्फोटमा दुबै खुट्टा गुमाउनुभएका उहाँले कृत्रिम खुट्टाको सहायतामा यो ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको हो । आरोहणपछि उहाँले अपाङ्गता जीवनको अन्त्य होइन भन्ने सन्देश दिन आफू सफल भएको बताउनुभयो ।
तीव्र हावा, कठ्याङ्ग्रिदो चिसो र आत्मशङ्काका बाबजुद आत्मविश्वास र निरन्तर प्रयासले सफलता सम्भव भएको उहाँको भनाइ छ । यसअघि उहाँले सगरमाथा, किलिमन्जारो, डेनाली, एकोनकागुआ, पुन्चाकजयु र मोन्ट ब्ल्याङ्कको सफल आरोहण गरिसक्नुभएको थियो ।
माउन्ट भिन्सनको आरोहणसँगै उहाँले दुबै खुट्टाको घुँडामुनि भाग गुमाएर सातै महादेशका अग्ला चुचुरा आरोहण गर्ने नयाँ कीर्तिमान बनाउनुभएको छ, जसलाई गिनिज वल्र्ड रेकड्र्सले मान्यता दिएको छ । अन्टार्टिकामा अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितको टोलीसँग उहाँले सन २०२६ जनवरी ६ को राति शिखरमा पाइला टेक्नुभएको हो ।
अहिले बेलायतमा बस्दै आउनुभएका तीन सन्तानका पिता बुढामगर ‘एमबीई’ अवार्ड तथा ‘प्राइड अफ ब्रिटेन’ सम्मानबाट विभूषित हुनुहुन्छ । उहाँ आफ्नो सफलता विश्वभरका अपाङ्गता भएका व्यक्तिलाई समर्पित गर्दै आउँदो माघ १ गते काठमाण्डौ आइपुग्ने कार्यक्रम रहेको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]