कर्जा प्रवाहमा उत्साहजनक सुधार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा झण्डै ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको हो ।
भदौ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुबाट कुल ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । यस्तो कर्जा प्रवाह साउन मसान्तमा ५२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै, असार मसान्तमा ५२ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा अधिकांश वाणिज्य बैंकको कर्जा प्रवाह सकारात्मक देखिएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १५ वटा बैंकले आफ्नो कर्जा विस्तार गरेका छन् भने ५ वटा बैंकको कर्जा प्रवाह भने ऋणात्मक छ । सबैभन्दा बढी कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले एक महिनामै १६ अर्ब १९ करोड रुपैयाँ थप ऋण लगानी गर्दै समग्र कर्जा शीर्ष स्थान ओगट्न सफल भएको छ। यस्तै, लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड, कुमारी बैंक ७ अर्ब ६५ करोड, एभरेष्ट बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ कर्जा बढाएका छन्। अर्कोतर्फ, एनआईसी एसिया, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह भने असार मसान्तको तुलनामा खुम्चिएको छ। यद्यपि समग्रमा बैंकहरुको ऋण लगानीको अवस्था सुधारोन्मुख दिशामा अघि बढेको तथ्यांकले देखाउँछ ।
नयाँ आर्थिक वर्षमा कर्जा प्रवाह बढेपछि बैंकरहरु समेत उत्साहित भएका छन् । यो अवस्थालाई उनीहरुले अधिक तरलताको अवस्था सुधारका लागि प्रस्थान बिन्दु बन्नसक्ने सम्भावनाको रुपमा समेत हेरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला चालु आर्थिक वर्षको दुई महिनाको कर्जा विस्तारको अवस्थाले अहिलेको अधिक तरलता व्यवस्थापन हुनसम्ने संकेत दिएको बताउँछन् । पछिल्लो महिना निजी क्षेत्रबाट कर्जाको माग हुन थालेको र यो क्रम नरोकिए केही वर्षमै तरलता व्यवस्थापन भइसक्ने उनको भनाइ छ । अहिले स्थिर सरकार, सुधारोन्मुख आर्थिक नीति र न्यून ब्याजका कारण कर्जाको माग बढ्न थालेको उनको बुझाइ छ ।
‘हामीसँग १२/१३ सय हाराहारीको अधिक तरलता हो । सरकार र नीतिहरु स्थिर हुने हो भने कर्जा सुधार भइहाल्छ,’ कोइराला भन्छन्, ‘न्यून ब्याजदर भएको अवस्थामा लगानीको लागि ऋणको माग बढ्छ कि भन्ने अवस्था देखिएको छ ।’
पछिल्लो समय बैंकिङ क्षेत्रमा अपेक्षित रुपमा कर्जा विस्तार भइरहेको थिएन । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिए पनि यो ६.५ प्रतिशत हाराहारीमा सीमित भएको थियो । यो अवस्थाले मासिक वृद्धिको तथ्यांकलाई समेत कमजोर देखाउँदै आएको थियो । तर, विगत केही समयको मासिक कर्जा विस्तारको तथ्यांक हेर्दा अहिलेको वृद्धि धेरै नै उत्साहजनक भने होइन । खासगरी दशैं तिहार जस्ता चाडपर्व सुरु हुने सिजनमा बैंकिङ कर्जाको माग बढ्नु स्वभाविक नै रहेको बैंकिङ क्षेत्रका विज्ञहरु बताउँछन् ।
गत भदौमा ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । यो अर्षको भदौमा पनि यही ट्रेन्ड देखिएको छ । त्यसो त गत पुसमा एकै महिना एक खर्ब भन्दा धेरै कर्जा विस्तार भएको समेत तथ्यांकमा देखिन्छ ।
कर्जा बढे पनि यो अवधिमा तरलता घट्ने अवस्था भने देखिएको छैन । यसको कारण हो बैंकहरुको निक्षेप संकलन । अहिले वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तमा यस्तो निक्षेपको आकार ७५ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो । अर्थात् करिब ६१ अर्ब ऋण प्रवाह भएको यो अवधिमा निक्षेप विस्तार भने ७५ अर्ब रुपैयाँले बढेको तथ्यांकले देखाउँछ ।
निक्षेप र कर्जाको यो आकार हेर्दा बजारमा लगानीयोग्य पुँजी थप बढेको छ । तर, कर्जा निक्षेप अनुपातमा भने केही सुधार भएको छ । अहिले वाणिज्य बैंकहरुको सीडी रेसियो ७१.१९ प्रतिशत छ । असार मसान्तमा यो ६९.९० प्रतिशत रहेको थियो ।
समग्र बैंक तथा वित्तीय संस्थाको प्रवृत्ति पनि लगभग यस्तै छ । असार मसान्तमा कुल निक्षेप ८३ खर्ब ११ अर्ब हुँदा कुल कर्जा प्रवाह ५९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो यो ७१.६९ प्रतिशत बराबरको सीडी अनुपात हो ।
