देशका मुख्य राजमार्ग अवरुद्ध

२०८३ आश्विन १० गते, शनिबार

काठमाडौँ । नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । ३० जिल्लाका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै दर्जनौं सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।
ललितपुरमा बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाङ्दुर तथा टाकुर्चे र गोदावरी नगरपालिका–६ बिखेंधारामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक आवागमन प्रभावित भएको छ । सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । भोजपुरमा मध्यपहाडी लोकमार्गलगायत सडकमा पनि रात्रिकालीन आवागमन रोकिएको छ ।
इलाममा मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाभित्रका सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । खोटाङमा मध्यपहाडी लोकमार्ग र उदयपुरमा कटारी–घुर्मी सडकखण्डमा पनि रात्रिकालीन आवागमन रोकिएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोला र याङवरक गाउँपालिका–२ स्थित दोभाने खोलामा बाढीपहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ गिम्तीबेँसी तथा वडा नम्बर ४ सयबेँसीमा पहिरो गएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो गएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
रसुवामा मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । नुवाकोटमा पासाङ ल्हामु सडकखण्ड र टोखा–छहरे सडकखण्डमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, वडा नम्बर १० टिङराङखानी, वडा नम्बर ९ जेनरीघाट तथा गजुरी गाउँपालिका–५ बाङ्गेमोड क्षेत्रमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ र आसपासका क्षेत्रमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोला नजिक र हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरो गएपछि सडक प्रभावित भएको छ । कान्ति लोकपथ र महेन्द्र राजमार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
सिन्धुलीमा बीपी राजमार्गलगायत सडकखण्ड तथा दोलखा र सिन्धुपाल्चोकमा जिल्लाभरका सडकखण्डमा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
चितवनमा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग प्रभावित भएका छन् । चितवन र आसपासका क्षेत्रमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सम्पूर्ण सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म आवागमनमा रोक लगाइएको छ ।
गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर सडकखण्ड, कास्की र मुस्ताङका जिल्लाभित्रका सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
पर्वतमा पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाभित्र पर्ने सडकखण्ड प्रभावित भएको छ । म्याग्दी र नवलपरासी पूर्वमा पनि सम्भावित बाढीपहिरोका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर र निसीखोला गाउँपालिका–४ कानाबगरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पोखरा–बेनी–बागलुङ सडकखण्ड तथा मध्यपहाडी लोकमार्ग पनि प्रभावित भएका छन् ।
लुम्बिनी प्रदेशमा दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड असोज ११ गते साँझसम्म पूर्ण रूपमा बन्द गरिएको छ । भालुवाङदेखि प्युठानको चकचकेसम्मको सडकखण्ड तथा सहिदमार्गअन्तर्गत घोराही–होलेरी र घोराही–मुर्कुटी सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत घोराही–थवाङ, रुकुम सहिदमार्ग तथा गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा समेत सवारी आवागमन प्रभावित भएको छ ।
रोल्पाको रोल्पा नगरपालिका–७ माडीचौर र माडी गाउँपालिका–३ गरगरेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ रिपामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ बिसौना, चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीर तथा कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो गएपछि मदन भण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी करिडोर प्रभावित भएका छन् ।
कर्णाली प्रदेशमा कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो गएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो गएपछि राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विभिन्न जिल्लामा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै साँझदेखि बिहानसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । रोक लगाइएको समय र अवधि जिल्लाअनुसार फरकफरक रहेको छ ।
एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने सम्बन्धित प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ ।
प्रहरीले सडकको अवस्था र मौसमअनुसार सवारी आवागमनसम्बन्धी निर्णय परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित निकायबाट जारी पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]