प्रवक्ता प्रकाण्ड सीद्वारा उम्मेदवारी दर्ता : साम्राज्यवादी तथा नवदलालहरुलाई बहिष्कार गर्न अपिल

२०८२ माघ ८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साम्राज्यवादी तथा नवदलालहरुलाई कुनै पनि हालतमा भोट नदिन अपिल गरेका छन्। मंगलवार कालिकोटमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।
प्रवक्ता प्रकाण्डले चुनावमा कुनै कसैेको दवाव र प्रभाव विना जनतालई सहि फैसला गर्न आग्रह गर्दै कुनै पनि हालतमा साम्राज्यवादी दलालहरुलाई भोट नदिन अपिल गर्दै भने- ‘यो बेला देश रहने कि नरहने गम्भीर अवस्थामा छ, देशको रक्षाका लागि साम्राज्यवादी एजेण्डहरुलाई चुनाबमा वहिष्कार गर्नुहोला । साम्राज्यवादी हर्कत विगतको भन्दा हजारौ गुणा ठुलो छ, यो चुनाव विगतको जस्तो चुनाव होईन, यो चुनाव साम्राज्यवादी दलाल र देशभक्त स्वाधीनता चाहानेहरु बीचको चुनाब हो। साम्राज्यवादका टट्टुहरुलाई संसदमा ल्याउन ठुलो षड्यन्त्र हुदैछ। जनताको अधिकारको रक्षा र स्वाधीनताको रक्षाका लागि कालिकोटवासी जनताले ऐतिहासीक फैसला गर्नु पर्छ, नत्र देशलाई युक्रेन जस्तै बनाउने षड्यन्त्र हुदैछ ।’

यसैगरी, प्रवक्ता प्रकाण्डले देशमा कालिकोटे जनताको बलिदान सामान्य नभएको तथ्य प्रस्तुत गर्दै जनताले एकपटक सहित नेतृत्वलाई मतदिएर जिल्लाको गरिमालाई उच्च बनाउन, आफ्नो अधिकारको रक्षागर्न र देशको स्वाधीनताको रक्षा गर्नु पर्ने बताए । उनले कालिकोटका राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी, शिक्षक, कर्मचारीलगायत सबैलाई एकपटक देशको स्वाधीनताको रक्षाको लागि आफूलाई मतदान गरेर सहयोग गर्न आग्रह गरे ।
प्रवक्ता प्रकाण्डले सहिद परिवार,घाईते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान सहित स्मरण गर्दै जनयुद्धको क्रममा बदिलान दिने सबै सहिदहरुलाई सम्मान गर्दै श्रद्धाञ्जली समेत व्यक्त गर्दै भने- ‘हामी १८ बर्षपछि फेरी जनताको मत लिन चुनावमा आएका छौ, जनयुद्ध र परिवर्तनको आन्दोलनमा सहिद हुने ५ सय हाराहारीका सवै सहिदहरुको सपना साकार गर्ने प्रतिबद्धता जनाउन चाहान्छु। सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली , सहिद परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
पार्टी कामले ढिलो पुगेकोमा आत्माआलोचना गर्दै प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘यो बेला देश रहने कि नरहने गम्भीर अवस्थामा छ, देशको रक्षाका लागि साम्राज्यवादी एजेण्डहरुलाई चुनाबमा वहिष्कार गर्नुहोला ।’

यसैगरी, प्रवक्ता प्रकाण्डले निर्वाचनमा नेकपा (माओबादी )लाई साथ साथ दिन आग्रह गर्दै साम्राज्यवाद र नवदलालहरुका विरुद्ध लड्ने र देशलाई कसैको स्वार्थसिद्ध गर्ने थलो बनाउन नदिने प्रतिबद्ता समेत जनाए।
स्मरणीय छ, प्रवक्ता प्रकाण्ड सीलाई माओवादी जनयुद्धको सुरुवात गर्ने जन्मदाता तथा प्रभावशाली नेताका रूपमा चिन्ने गरिन्छ । उनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए ।
नेकपा (माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रचण्ड नेतृत्वको माओवादीले जनताको अपेक्षा अनुसार काम नगरेको निष्कर्षसहित क्रान्तिका अधुरा सपना पूरा गर्ने उद्देश्यका साथ २०७९ सालमा नेकपा (माओवादी) पुनर्गठन गरेका थिए । प्रवक्ता प्रकाण्ड सी त्यसपछि भएका कुनै पनि निवार्चनमा सहभागी भएका थिएनन ।
नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले प्रचण्डसँगको राजनीतिक विभाजनपछि एकीकृत जनक्रान्तिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै देश र जनताको हितमा महत्वपूर्ण योगदान दिँदै आएका छन ।
तत्कालिन नेकपा अर्थात हालको नेकपा (माओबादी )ले तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्रीको पालामा भ्रष्टाचारविरुद्ध कारबाही गरेकै कारण करिब दुई वर्ष प्रतिबन्धको सामना गर्नुपरेको थियो। २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिपछि तत्कालीन नेकपा तथा हालको नेकपा (माओवादी) खुला राजनीतिमा प्रवेश गरेको हो। एकीकृत जनक्रान्तिको एक मोर्चाका रूपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रूपमा नेकपा (माओवादी) नाममा दर्ता भई निर्वाचन प्रक्रियामा सहभागी भएको छ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले माधव नेपाललगायत साना दलहरूसँग एकता गर्दै माओवादी पहिचान त्यागी नेपाली कम्युनिष्ट पार्टी बनाएपछि नेकपाले जनयुद्धकालीन नाम नेकपा (माओवादी) पुनः प्रयोग गरेको हो। सो पार्टीले अहिले निर्वाचन आयोगबाट गुलाफ चिन्ह लिएर निर्वाचनमा सहभागिता जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]