प्रकाण्डद्वारा सच्चा,राष्ट्रवादी र जनताको नेतालाई जिताउन आग्रह
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सच्चा,राष्ट्रवादी र जनताको नेतालाई जिताउन आग्रह गरेका छन्। कालिकोटको खाँडाचक्र नगरपालिकाको सेरा,मटेला,तेस्रो वजार र दाँहामा भएको चुनावी प्रचार तथा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले आसन्न निर्वाचनमा कालिकोटे जनताले भ्रष्ट र कमिशनखोरहरुलाई बहिष्कार गर्दै सच्चा,राष्ट्रवादी र जनताको नेता जिताउनुको बिकल्प नभएको बताए । उनले कालिकोटका जनताले बजेट माग्ने नेता होईन दिने ठाउँमा पुग्ने नेतालाई जिताउनु पर्ने बताउदै दिने ठाउँमा पहुँच भएको नेता गएपछि मात्र कालिकोट र समग्र कर्णालीको विकास हुने बताए । उनले भने- ‘कालिकोटबाट जितेर जाने नेताहरु बजेट माग्न सिंहदवार धाउने गर्छन, मन्त्री र प्रधानमन्त्रीलाई भेटन पनि महिनौसम्म कुर्छन, बजेट ल्याउन सक्दैनन्, त्यस्तो नेताहरुलाई जिताएर कालिकोटको विकास हुदैन,हाम्रो राष्ट्रिय राजनीतिमा सिधा पहँुच छ, कोही मन्त्री प्रधानमन्त्रीलाई भेटन महिनौ दिन कुर्नु पर्दैन, बजेट माग्नु पनि पर्दैन, हामी डाईरेक्ट दिनेठाउँमा पहुँचमा छौ, अनिमात्र कालिकोट सहित कर्णालीको विकास हुन्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कालिकोट राष्ट्रिय राजनीतिमा राजनीतिक पहुँच भएको जिल्ला भएको बताउदै आफू २०६४ सालमा संविधान सभामा जितेर जाँदा जनताको संविधान बनाउन ठुलो संघर्ष गरेको बताए । उनले एउटा ९ महिनाको गर्भवती महिलाले बच्चा जन्माउने बेला महिलाको घाँटी रेटेर हत्या गरे जस्तै संंविधान सभाको हत्या गरिएको टिप्पणी गर्दै धेरै समय जनताको संंविधान बनाउन,माओवादी पार्टी र जनयुद्धको उपलव्धीको रक्षा गर्न पार्टी भित्रै र वाहिर लामो समय संघर्ष गर्नु परेको बताए । उनले विगतमा हुने चुनाव भन्दा अहिलेको चुनाव धेरै फरक भएको भन्दै जनताको माओवादी पार्टी र जनताको नेतालाई जिताउन अपिल समेत गरे ।
