जेनजी उम्मेदवार तिरुवाद्वारा नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्ड सीलाई समर्थन
काठमाडौँ । स्वतन्त्र जेनजी उम्मेदवार मानबहादुर तिरुवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीलाई समर्थन गरेका छन्। दुवै उम्मेदवारबीच भएको तीन बुँदे सहमतिमा मानवहादुर तिरुवाले आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रकाण्ड सीलाई निर्वाचनमा सघाउने उल्लेख गरिएको छ ।
दुवै उम्मेदवारको हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा देशको वर्तमान अवस्था असाध्यै संक्रमणकालिन र संवेदशील भएको उल्लेख गर्दै राष्ट्रको स्वाधीनता र जनअधिकारको रक्षा वर्तमान राष्ट्रिय राजनीतिको मुख्य मुद्धा बन्न गएको विषयमा दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ ।
दुवै उम्मेदवारको हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ -‘ देशको वर्तमान अवस्था असाध्यै संक्रमण कालिन र संवेदनशील छ । राष्ट्रको स्वाधीनता र नेपाली जनताको प्राप्त सीमित अधिकार पनि सर्वाधिक खतराको सामना गरी राखेका छन । यसअर्थ राष्ट्रको स्वाधीनता र जनअधिकारको रक्षा वर्तमान राष्ट्रिय राजनीतिको मुख्य मुद्धा बन्न गएको विषयमा हामी दुवै पक्ष सहमत भएका छौ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार श्री खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड सी) र स्वतन्त्र उम्मेदवार श्री मान बहादुर तिरुवाबीच सहकार्य गर्ने ऐतिहासिक सहमति भई स्वतन्त्र उम्मेदवार श्री मानबहादुर तिरुवाले नेपाल
कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवारलाई समर्थन गरी संयुक्त चुनावी कार्यक्रम संचालन गर्ने समझदारीमा पुगेका छौ ।
हामी दुवै उम्मेदवार बीच गरिएको समझदारी कालिकोट जिल्ला र जिल्लावासी आम जनसमुदायको निम्ति ऐतिहासिक कोषेढुङ्गा सावित हुनेछ र आगामी फागुन २१ गते हुने निर्वाचनमा कालिकोटका जनताको जीतलाई सुनिश्चित गर्न विशेष योगदान गर्नेछ भन्ने विश्वास पनि लिएका छौ।’

