आज देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार २४ गते, बुधबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ।
महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। यसै क्रममा देशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मौसम बद्ली भई वर्षा हुने देखिन्छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका साथै मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा आज तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको आकलन गरिएको छ। रातिको समयमा देशको पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुनेछ।
विशेष गरी कोशी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानहरूमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रियाहरु

[anycomment]