राहदानी सेवा ३ दिनसम्म बन्द !
काठमाडौं । राहदानी विभागले देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा २ देखि ३ दिनसम्म बन्द रहन सक्ने जनाएको छ। विभागले हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्नका लागि सेवा बन्द गर्न लागिएको जानकारी गराएको छ। विभागले शुक्रबार जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म (८–१० जुलाई) तीन दिन बन्द रहनेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा असार २५ र २६ गते (९–१० जुलाई) दुई दिनका लागि बन्द हुनेछ।
विभागका अनुसार असार २९ गते (१३ जुलाई) देखि राहदानी सेवा नयाँ प्रणालीमार्फत सञ्चालनमा आउनेछ। राहदानी विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
यस बिषयमा राहदानी विभागद्वारा प्रकाशित सुचनामा भनिएको छ – ‘राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको र हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा र विभागवाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने भनी यस विभागले मिति २०८२ फागुन २८ गते सेवाग्राहीका नाममा सूचना जारी गरेको विषय अवगत नै छ। यसै सन्दर्भमा विभागले यही २०८३ असार २९ गते (तदनुसार १३ जुलाई २०२६) मा हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको र यसबाट देहायको अवस्था हुने वेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
क- जिल्ला/ईलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा मिति २०८३ असार २४ देखि २६ गते सम्म (तदनुसार ८ देखि १० जुलाई २०२६ सम्म) ३ दिनसम्म वन्द हुनेछ।
ख- त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा मिति २०८३ असार २५ र २६ गते (तदनुसार ९ र १० जुलाई २०२६) २ दिनसम्म बन्द हुनेछ। साथै, यही मिति २०८३ असार २९ गते (तदनुसार १३ जुलाई २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति राहदानी विभाग क्षमाप्रार्थी छु। साथै, विभागको कार्यमा सदाझैं साथ र सहयोग गर्नुहुने सवैमा विभाग हार्िक आभार ज्ञापन गर्दछ।’
