नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १६जना दोषी
काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश खड्काको इजलासले कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा दोषी ठहर गरिएको जनाइएको छ ।
अदालतले रायमाझी, खाण र पाण्डेसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो ।
अदालतले यो प्रकरणलाई राज्यविरुद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खलल पुर्याएको टिप्पणी गरेको छ । मुद्दाका प्रतिवादी सन्दीप रायमाझीसहित सात जनाले सफाइ पाएका छन् । प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीविरुद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाइ दिएको हो । प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानुनबमोजिम हुने गरी भन्दै मुद्दालाई मुलतबीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा उल्लेख छ । मुलतबीमा राखिएका फरार ८ प्रतिवादीमा अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी छन् । दोषी ठहर भएका विरुद्ध सजाय निर्धारणका लागि २९ असारमा पेसी तोकिएको छ ।
दोषी ठहर व्यक्तिले संगठित रूपमा ठगी गरी उक्त कसुरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको संक्षिप्त आदेशखण्डमा उल्लेख छ । आदेशअनुसार किर्ते कसुरमा शरणार्थी नेता रिजालसहित गिरोहका दुलाल र सानु भण्डारी दोषी ठहर भएका छन् । प्रतिवादीहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी ठगी र संगठित अपराधमा दोषी ठहर भएका हुन् । संगठित ठगीमा मतियारका रूपमा पूर्वगृहमन्त्री खाणलाई दोषी ठहर गरिएको छ । गिरोहको अनुचित प्रभावमा परी काम गरेकामा उनलाई यो कसुरमा मतियार बनाएर दोषी ठहर गरिएको हो । रकम नखाएको देखिए पनि गिरोहको मतियार बनेकामा संगठित ठगीमै टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा दोषी ठहर भएका छन् । त्यसैगरी राज्यविरुद्ध र एकीकृत अपराधतर्फ दुलाल, भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, चौधरी, शेर्पा, पाण्डे र रायमाझीलाई अदालतले संगठित रूपमा ठगी गरी राज्यविरुद्धको कसुर र एकीकृत अपराध गरेकामा दोषी भनेको छ । राज्यविरुद्ध र एकीकृत कसुरतर्फ मतियारका रूपमा पूर्वमन्त्री खाण, शरणार्थी नेता रिजालसहित नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल दोषी ठहर भएका छन् ।
