अमेरिकाद्वारा इरानको विभिन्न स्थानमा हमला
काठमाडौँ । अमेरिकाले इरानको विभिन्न स्थानमा हमला गरेको बीबीसीले जनाएको छ। इरानले स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी जनशक्ति र ढुवानी जहाजमाथि हमलाको प्रयत्न गरिरहेकाले आफूहरूले आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमाण्डको भनाइ छ।
इरानी सञ्चारमाध्यमहरूले विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताएका छन्। समाचार संस्था तास्निमका अनुसार क्वेसम द्वीपमा विस्फोटका धेरै आवाज सुनिएका छन्। यस्तै कोनार्क र बन्दर अब्बासमा पनि ठूलो आवाज सुनिएको उल्लेख गरिएको छ। इरानी सेनाले अमेरिकी हमलाको कडा जवाफ दिने चेतावनी दिएको अलजजिराले उल्लेख गरेको छ। सैन्य प्रवक्ता सरदार मोहेबीले अमेरिका अब पछुताउनुपर्ने उल्लेख गरेका छन्। ‘अब अमेरिका पछुताउने छ,’ एक्समा उनको चेतावनी छ।
यस्तै इरानी सेनाले अमेरिकी सेनालाई आतंकवादीको संज्ञा दिँदै ठूलो क्षतिका लागि तयार रहन चेतावनी दिएको छ। ‘जति इरानमा आतंक बढाउँदै जान्छ त्यति नै ठूलो क्षति बेहोर्न अमेरिका तयार होस्,’ सेनाको वक्तव्य उल्लेख गर्दै अलजजिराले उल्लेख गरेको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो र शक्तिशाली हमला बाँकी नै रहेको बताएका छन्। ‘यो त सानो झट्का मात्रै हो। ठूलो आक्रमण आउनै बाँकी छ। समुद्री धराप बिछ्याउँदै आक्रमणका लागि इरानले नै उक्साएको हो। इरानले हामीविरुद्ध आठ क्षेप्यास्त्र प्रहार गरेको छ,’ ट्रम्पले भनेका छन्।
इरानले अमेरिकामाथि हमला वैधानिक भन्दै औचित्य पुष्टि गर्न खोजेमा थप शक्तिशाली हमला बेहोर्नुपर्ने ट्रम्पको चेतावनी छ। ‘यदि इरानले जवाफी हमलाको तयार ग¥यो भने उसले अझै भीषण हमलाको सामना गर्नुपर्नेछ। त्यस हमला पछि इरानको केही पनि रहने छैन,’ ट्रम्पको चेतावनी छ। – एजेन्सी
