बाढीका कारण कागजात गुमाएका ग्राहकलाई सहज बैंकिङ सेवा प्रदान गर्न निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा बाढीका कारण कागजात गुमाएका ग्राहकलाई सहज बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले ग्राहक हस्ताक्षर र फोटो यकिन गरी वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । रसुवा बाढीका कारण हजारौं घर परिवार प्रभावित छन् । साथै, बाढी प्रभावितलाई बैंकिङ कारोबारमा सहज पहुँच कायम गर्न केन्द्रीय बैंकले हस्ताक्षर नमुना, फोटो तथा ग्राहकका अन्य विवरणका आधारमा ग्राहक यकिन गरी कारोबार गर्न सहजीकरण गर्ने निर्देशन दिएको हो ।
रसुवा बाढीका कारण चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकका अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
त्यसैगरी बाढी प्राभावित क्षेत्रका लघुवित्त वित्तीय संस्थाका शाखा/कार्यालयबाट सेवा पुन: सुरु गर्न पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
त्यसका लागि लघुवित्त संस्था स्वयंले स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र केन्द्रीय बैंकलाई जानकारी भने दिनुपर्छ ।
