भारतको उत्तर प्रदेशमा भारी वर्षा:५८ जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण ५८ जनाको मृत्यु भएको छ । शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो ।
अविरल वर्षाका कारण धेरै स्थानमा कच्ची घर भत्किएका छन् भने रुख र विद्युत्का पोल ढलेर सडक अवरुद्ध भएका छन् । विद्युत् लाइनमा समेत क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाजन्य दुर्घटनामा प्रदेशभर ५८ जनाको मृत्यु भएको हो ।
सबैभन्दा धेरै २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ । सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४, बाराबंकीमा ३, गोन्डा र अमेठी तथा श्रावस्तीमा पनि मानवीय क्षति भएको छ । लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको छ । अन्य केही जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
